शीर्षकहरू

गोदावरीका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोदावरीका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गोदावरी नगरपालिकाको कैलालीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव–इन्जिनियरसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानिनोक्सानी गरि भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।           

त्यस नगरका विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षणमा खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको भनी पेश गरिएको प्रतिवेदन सम्बन्धमा आयोगले अनुसन्धान गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेशगरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानिनोक्सानीमा संलग्न रहेको पाईएको छ । इन्जिनियर र सबइन्जिनियरले गुणस्तरहीन कार्य गराईएको पाईएको आयोगले जनाएको छ।  

आयोगका अनुसार उनहिरुले नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको पाईएको छ । साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्यगरि बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको पुष्टि भएको छ । उनीहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।