शीर्षकहरू

अर्थमन्त्री जनार्दन शर्मासहित कम्युनिष्ट पूर्व अर्थमन्त्रीहरुले कहाँ–कहाँबाट गरे मतदान ?

अर्थमन्त्री जनार्दन शर्मासहित कम्युनिष्ट पूर्व अर्थमन्त्रीहरुले कहाँ–कहाँबाट गरे मतदान ?

काठमाडौं । नेपालको संविधान, २०७२ पछिको दोस्रो स्थानीय तहको निर्वाचन आज (वैशाख ३० गते) देशभर एकैसाथ भइरहेको छ । आज ७५३ वटै स्थानीय तहका जनताले आफ्नो स्थानीय सरकार चुन्ने छन् । आज विहानैदेखि चर्चित नेताहरूले विभिन्न स्थानमा रहेका मतदान केन्द्रबाट मतदान गरिरहेका छन् । कतिपय नेताहरूले मतदान गरिसकेका छन् भने कतिपयले गर्न बाँकी छ । 

हालका अर्थमन्त्री र पूर्व अर्थमन्त्रीहरूले पनि आफ्नो गोप्य मतदान गरिसकेका छन् । केहीले भने गर्न बाँकी छ । हालका अर्थमन्त्री जनार्दन शार्माले र केही पूर्व अर्थमन्त्रीहरूले कुन–कुन ठाउँबाट मतदान गरे भन्ने बारे यहाँ प्रस्तुत गरिएको छ । 

अर्थमन्त्री शर्मा 
अर्थमन्त्री तथा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले रुकुमको यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।  शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगेका थिए । 
शर्माले मुसिकोट नगरपालिका ५ स्थित यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।  

पूर्व अर्थमन्त्रीहरू

 
विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । स्थानीय चुनावका लागि नेता पौडेल वैशाख दोस्रो हप्तादेखि बुटवलमा छन् ।

वर्षमान पुन 
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पाको नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका छन् । 

सुरेन्द्र पाण्डे
नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवनको भण्डाराको अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले मतदान पछि संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पार्टी एक्लै काफी रहेकोले विजयको बाटो आफैं तय गर्ने दावी गरे । 

कृष्णबहादुर महरा 
नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व अर्थमन्त्री कृष्णबहादुर महाराले रोल्पा नगरपालिका–१ मेबाङस्थित तारा माद्यमिक विद्यालयबाट मतदान गरेका छन् ।
उनको मतदाता नामावली रोल्पामा भएकाले उनी हिजो नै दाङबाट रोल्पा पुगेका थिए । महरा दाङ क्षेत्र नं. २ बाट निर्वाचित हुन् ।

बाबुराम भट्टराई 
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।
पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ ।