शीर्षकहरू

नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

विराटनगर । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् । 

युक्रेनका कम्पनीहरूलाई चाँडो माल पठाइदिन अनुरोध गर्दा त्यहाँका जहाज कम्पनीहरूले विलम्ब गरिरहेको व्यवसायीहरूले बताएका छन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले एलसी खोलेर सामान मगाइएको तर सम्भावित युद्धका कारण त्यहाँबाट त सामान डिसप्याच नभएकाले चिन्ता थपेको बताए । उनले भने, ‘युद्ध शुरू भइहाल्यो भने त्यहाँको कम्पनीले सामान पठाउँदैन, यहाँका उद्योगहरूको करोडौं रुपैयाँ डुब्न सक्छ ।’

दुवै देशबीच बढ्दो तनावले तोरीको मूल्य प्रतिटन ३० डलर बढेको छ । नेपालमा युक्रेनबोहक अस्ट्रेलियाबाट पनि तोरीको दाना आयात गरिन्छ । युक्रेनमा भएको तनावपछि अस्ट्रेलियाबाट तोरी मगाइएको र माग बढेपछि त्यहाँबाट ढिला ढुवानी हुने देखिएको उद्योगीले बताएका छन् । अस्ट्रेलियामा समेत तोरीको मूल्य प्रतिटन ६० डलर बढेको छ । यसको असर नेपाली बजारमा केही समयपछि नै देखिने उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का उपाध्यक्ष कृष्णकुमार अग्रवाल रसिया र युक्रेन बीचको युद्धको तनावका कारण नेपालका तेल उद्योगहरूले युक्रेनको सट्टा अस्ट्रेलियाबाट तोरी मगाउन थालेकाले कच्चा पदार्थको अभाव नभए पनि बजारमा खानेतेलको मूल्य वृद्धि हुने बताए । कोभिड महामारीका कारण तोरी, सूर्यमुखी र भटमासको तेलमा १ वर्षदेखि मूल्य बढेको छ । तोरीको तेलमा लिटर १ सयका दरले बढेको मूल्य थप बढ्ने देखिएको छ । तोरी लिटरको खुद्रा मूल्य अहिले २ सय ८० रुपैयाँ छ । सूर्यमुखी २ सय ३० र भटमासको तेलको मूल्य २ सयको हाराहारीमा छ ।