शीर्षकहरू

म्याद सकिएको सामग्री प्रयोग गर्ने गुलाब मिठाई पसललाई दुई लाख जरिवाना

म्याद सकिएको सामग्री प्रयोग गर्ने गुलाब मिठाई पसललाई दुई लाख जरिवाना

काठमाडौं । म्याद सकिएको सामग्री प्रयोग गरेको पाइएपछि सुन्धारास्थित गुलाब मिठाई पसललाई रु दुई लाख जरिवाना गराइएको छ । काठमाडौँ महानगरपालिकाले आज गरेको तिहार लक्षित बजार अनुगमनका क्रममा उक्त पसलबाट बिक्री वितरण हुँदै आएको मिठाईमा म्याद सकिएको सामग्री प्रयोग गरेका, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएको पाइएपछि रु दुई लाख जरिवाना गरिएको हो ।   

सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्रान्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ । कामपाले गत वर्षको तिहारमा गरेको अनुगमनका क्रममा पनि उक्त पसललाई सरसफाइ र म्याद सकिएको सामग्रीको बिक्री वितरण नगर्न निर्देशन दिएको थियो । 

अनुगमनमा खटिएका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले गुलाबमा भेटिएका मिठाई खाद्य सुरक्षाका दृष्टिकोणबाट गम्भीर असर पु¥याउन सक्ने बताए । “समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याई उपभोक्ता ठगिने क्रम रोकिँदैन,” अध्यक्ष तिमिल्सिनाले भने । आउँदै गरेको तिहारलाई लक्षित गरेर कामपाले गत सोमबारदेखि बजार अनुगमन गरिरहेको छ । विगत पाँच दिनदेखि गरिएको अनुगमनका  क्रममा समस्या विनाको कुनै पसल फेला नपरेको बताइएको छ ।  

यसअघि पनि कामपाले चार पसललाई नवीकरण नगरेको, सरसफाइमा ध्यान नदिएको र अखाद्य वस्तु मिसाएको भन्दै  करिब रु एक लाख जरिवाना गराइसकेको छ ।