शीर्षकहरू

एफवानसफ्ट आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा

एफवानसफ्ट आइसिटी अवार्ड २०२१ मा उत्कृष्ट ५ को घोषणा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ केही विधामा उत्कृष्ट ५ को घोषणा गरिएको छ । छैटौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया अन्तर्गत विभिन्न ११ विधामध्ये ३ महत्वपूर्ण विधामा जुरी समितिको छनौट प्रक्रिया मार्फत उत्कृष्ट ५ को घोषणा गरिएको हो । 

ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ विधामा गत शनिवार आयोजना भएको प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसन मार्फत उत्कृष्ट ५ को छनौट गरिएको हो । 

छनौटमा परेका उत्कृष्ट ५ ले नोभेम्बर १ देखि शुरू हुने पब्लिक भोटिङ (ई–सेवा र एसएमएस)मा सहभागि हुनु पर्नेछ । यसैगरी यसअघि छनौट भएका ३ विधामा उत्कृष्ट १० सबैका लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधा पनि खुल्ला गरिएको छ । जुरीको छनौट, पब्लिक भोटिङ र फिल्ड भिजट समेत सम्पन्न गरी आयोजकले ग्राण्ड फिनाले कार्यक्रममा सर्वोत्कृष्ट घोषणा गर्नेछ । 

छनौट भएको उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रा.लि, हाउस अफ बुक्स प्रा.लि, खेती भेन्चर प्रालि, निर्वाण साथी टेक्नोभेसन प्रा.लि र पुर्याउन सर्भिसेस प्रा.लि रहेका छन् । स्टार्टअप आइसिटी अवार्ड २०२१ विधामा ५० बढी आइसिटी स्टार्टअप कम्पनीहरूको नोमिनेशन प्राप्त भएको थियो । विभिन्न ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ छनौट गरिएको आयोजकले जनाएको छ । 

प्रडक्ट आइसिटी अवार्ड २०२१ को लागि उत्कृष्ट ५ मा छनौट भएका प्रडक्टहरुमा बगभी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् । यस विधामा ४० बढी आइसिटी प्रडक्टहरूको नोमिनेशन प्राप्त भएको र ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा गरिएको आयोजकले जानकारी दिएको छ । 

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ को लागि छनौट भएका उत्कृष्ट ५ इन्नोभेसनहरुमा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन प्लास्टपेपर र रेन्ट अ बाइक रहेका छन । यस वर्ष राइजिङ स्टार इन्नोभेसन विधामा ६० बढीको नोमिनेशन प्राप्त भएको थियो । 

यी ३ विधा बाहेक अवार्डमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड गरी ४ विधा व्यक्तिको लागि समावेश गरिएको छ । यसैगरी डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर) सरकारी र नीजि क्षेत्रका संस्थाहरूलाई लक्षित गरिएको छ । यी सबै विधाहरूमा नोमिनेशन पश्चात् छनौट जारी रहेको छ ।