शीर्षकहरू

महँगी बढाइए बजार हस्तक्षेप हुन्छ: मन्त्री भट्ट

महँगी बढाइए बजार हस्तक्षेप हुन्छ: मन्त्री  भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजेट भाषणपछि मूल्यवृद्धि हुनसक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

उनले भने, ‘तीनरचार दिनसम्म उपत्यका लगायत ठाउँका ठूलादेखि साना व्यापारिक फर्म, खाद्यान्न उद्योगको गहन र सूक्ष्म अध्ययन गर्छौं, कैफियत भेटियो भने बजार हस्तक्षेप गरेर अनुगमन गर्ने र कानुन अनुसार कडा कारबाहीको प्रक्रियामा जान्छौँ ।’

मन्त्री भट्टले अहिले दैनिक उपभोग्य वस्तुको भाउ महँगो हुनुपर्ने कारण कुनै नभएको भन्दै कसैले पनि मूल्य बढाउन नपाउने र गरेको प्रमाणित भए कारबाहीको भागी हुनैपर्ने बताए । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत भारतबाट आउने चामल लगायतका खाद्यान्नमा एक प्रतिशत भन्सार वृद्धि गरी नौ प्रतिशत पु¥याएको छ । यसअघि भारतबाट आउने चामल लगायतमा भन्सार दर आठ प्रतिशत थियो । भन्सार वृद्धिको असर हरेक खाद्यान्नमा पर्न थालेको छ ।

स्वदेशमा सञ्चालन भएका चामल मिल र व्यापारीले एक प्रतिशत वृद्धि भएको भन्सार दरलाई आधार बनाएर चामल, दलहन लगायत खाद्यवस्तुको भाउ बढाउन थालेका छन् जब कि भन्सार स्वदेशी मिल सञ्चालक र उत्पादक उद्योग कसैलाई पनि लागू हुँदैन । मन्त्री भट्टले विभिन्न बहानामा बजार भाउ बढ्न सक्नेप्रति सचेत भएर हाल बजारको यथार्थ अवस्था बुझ्न अध्ययन गरिएको छ भने । कुनै पनि बहानामा बजार भाउ उचाल्ने कालोबजारी गर्ने व्यापारिक उद्योग कारबाहीको भागिदार हुनैपर्ने पनि उनको भनाइ छ ।

उनले भारतीय तरकारी बढी आपूर्ति हुँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर फाल्नुपर्ने अवस्था आएको भन्ने कुरामा पटक्कै सत्यता नभएको बताए । मन्त्री भट्टले भने, ‘हामीले सकेसम्म स्वदेशकै उत्पादनलाई प्राथमिकता दिनुपर्छ भनेर स्थानीय सरकार र तरकारी किसानका सहकारीसँग समन्वय गरेर हाल स्थानीय उत्पादनको आपूर्ति शृङ्खला बनाएर नेपाली किसानबाट उत्पादित तरकारी बजारमा ल्याउने व्यवस्था गरेका छौँ ।’

एकाध ठाउँमा त्यस्ता समस्या देखिए पनि सबैतिर यो अवस्था नभएको दाबी गर्दै उनले देशमा बन्दाबन्दी सुरु हुँदा तरकारीको आयात बढे पनि पछिल्ला सातामा आयातको दर धेरै नै घटेको दाबी गरे तर आपूर्ति मन्त्रालयको आयातको तथ्याङ्क नेपालमा लकडाउन सुरु भएको पहिलो सातादेखि (चैत ११ देखि १७ गतेसम्म) दसौँ सातासम्म (जेठ १३ देखि १९ गतेसम्म) तरकारी आयात चार प्रतिशतले बढेको देखिन्छ । पहिलो साता छ हजार २८९ मेट्रिक टन तरकारी आपूर्ति भएकोमा दसौँ साता (जेठ १३ देखि १९ गतेसम्म)मा छ हजार ६४५ मेट्रिक टन आपूर्ति भएको छ ।

यसै साता सबै भन्सार क्लियर
मन्त्री भट्टले केही अघिसम्म भारतसँगको विराटनगर र चीनसँगको तातोपानी भन्सारमा खाद्यान्नबाहेक अन्य सामान आपूर्तिमा समस्या भए पनि अहिले त्यो अवस्था नभएको स्पष्ट पारे । उनका अनुसार अहिले आपूर्ति भएका सामान व्यवस्थापनमा समस्या भएको छैन । नेपालको भन्सारमा आएका सबै सामान सम्बन्धित ठाउँमा पु¥याउने काम निर्वाध रूपमा भइरहेको छ । अबको दुईरतीन दिनमा सबै भन्सारको स्टक क्लियर हुन्छ । मन्त्री भट्टले अहिले बजारमा निर्माण सामग्रीको पनि मूल्य बढ्यो भनेर धेरैतिरबाट उजुरी र गुनासो आइरहेको बताए । उनले यसको वास्तविकता छिट्टै खोजिने र बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याइने विश्वास दिलाए ।

स्वास्थ्य किटको अभाव हुँदैन
मन्त्री भट्टले औषधिको कच्चा पदार्थ र तयारी औषधि आवश्यकताका आधारमा आइरहेको र यसको आपूर्तिमा कुनै समस्या नभएको बताए । उनले तत्काल औषधि अभावको अवस्था हुँदैन भन्दै त्यो अवस्था आउन नदिनेमा सरकार प्रतिबद्ध भएको पनि बताए । उनले कोभिड परीक्षण किटको पनि अहिले अभाव नभएको भन्दै पछिल्लोपटक भारतबाट एकैपटक धेरै व्यक्ति आउँदा केही ठाउँमा अभाव हुनसक्ने जनाए । ती ठाउँमा पनि अभाव हुन नदिने गरी सरकारले तयारी गरिसकेको जानकारी दिए ।

खाद्यान्न आपूर्तिको अवस्था
आपूर्ति मन्त्रालयका अनुसार बन्दाबन्दीको ७१औँ दिनसम्म दुई लाख ३६ हजार मेट्रिक टन खाद्यान्न, ६७ हजार ४७२ मेट्रिक टन दलहन, ८५ हजार २५३ मेट्रिक टन तरकारी, ३४ हजार २४३ मेट्रिक टन फलफूल, १२ हजार २४३ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।

यस्तै यस अवधिमा ९९ करोड ८७ लाख ९१ हजार रुपियाँ बराबरको औषधिको कच्चा पदार्थ र तीन अर्ब ८५ करोड ९१ लाख ८० हजार रुपियाँ बराबरको तयारी औषधि आयात भएको छ । यो तथ्याङ्कका आधारमा बन्दाबन्दी शुरू भएपछि आयात क्रमशः बढेको देखिएको छ । पहिलो सातादेखि दसौँ सातासम्मको औसत आयात खाद्यान्न ६।९ प्रतिशत, दलहन तथा गेडागुडी १४।७ प्रतिशत, तरकारी ४ प्रतिशत, फलफूल ३८।१ प्रतिशत, दुग्धजन्य पदार्थमा २६५८।४ प्रतिशतले बढेको छ ।

खाद्यान्न मौज्दातको अवस्था
खाद्यान्न मौज्दात पनि पर्याप्त रहेको मन्त्रालयले जनाएको छ । बन्दाबन्दीको ७३औँ दिनसम्म निर्वाध रूपमा खाद्यान्न आइरहेको छ । अहिले पनि नेपाल खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र निजी क्षेत्रमा समेत गरेर एक लाख ३८ हजार ८१७ मेट्रिक टन खाद्यान्न मौज्दात छ ।

यस्तै एक लाख २७ हजार ९६९ मेट्रिक टन नुन, ६४ हजार ९४० मेट्रिक टन चिनी रहेको मौज्दात छ । यसैगरी खाने तेल ८३ हजार ९६७ मेट्रिक टन, दलहन र गेडागुडी १६ हजार १४६ मेट्रिक टन, गहुँ ५५९ मेट्रिक टन, फापर ६६ मेट्रिक टन र राहतको खाद्यान्न छ हजार ७३१ मेट्रिक टन मौज्दात छ । गोरखापत्र दैनिकमा खबर छ ।