शीर्षकहरू

तेलको मूल्यमा भारी गिरावट, दुई दशक यता कै सस्तो

तेलको मूल्यमा भारी गिरावट, दुई दशक यता कै सस्तो

एजेन्सी । अमेरिकामा सोमबार कच्चा तेलको मूल्य १५ डलर प्रति ब्यारेल भन्दा तल झर्‍यो ।यो विगत दुई दशक कै सर्वाधिक सस्तो तेलको मूल्य हो ।

यस्तो अवस्था आउनुमा संसारभर कोरोनाको कारण तेलको मागमा आएको कमी प्रमुख हो । त्यसै गरी तेल उत्पादनमा कटौती गर्ने निर्णय ढिलो हुनु पनि तेलको मूल्यमा गिरावट ल्याउने प्रमुख कारण मानिएको छ । 

सोमबार बजार खुल्ने बित्तिकै अमेरिकाको बेन्चमार्क वेष्ट टेक्सस इन्टरमिडिएट मा तेलको मूल्यमा १९ प्रतिशतको गिरावट आएको थियो । यसरी तीव्र गतिमा गिरावट हुँदा कच्चा तेलको मूल्य १४.७३ डलर प्रति ब्यरेलमा कारोबार भएको थियो । 

उता अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेंट मा समेत कच्चा तेलको मूल्य ४.१ प्रतिशतले झरेर प्रति ब्यारेल २६.९३ डलर सम्म पुगेको थियो । पछि केही सुधार हुँदा २८.११ डलरमा कारोबार भयो ।

यसअघि लामो समयसम्म तेल उत्पादक राष्ट्रको प्रतिनिधिको रूपमा रहेको साउदी अरब र रसियाबिच तेल उत्पादनमा कटौती गर्ने सम्झौता हुन नसक्दा समस्या भएको थियो । तर, ढिलै भए पनि यी दुई देशबिच सम्झौता सम्पन्न भयो । उनीहरू हरेक दिन १ करोड ब्यारेल उत्पादन कम गर्न सहमत भएका छन् ।

यो सबै प्रयासका बाबजुद तेल बजारमा देखिएको सङ्कटमा कमी आएको छैन । मूल्यमा लगातार गिरावट आइरहेको छ । विशेषज्ञहरू चाहिँ तेलको उत्पादनमा कटौती गरेर मात्र मूल्यमा आएको गिरावट कम गर्न सकिँदैन ।