शीर्षकहरू

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको बुद्धले थाल्यो ह्यांगर बनाउन

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको बुद्धले थाल्यो ह्यांगर बनाउन

काठमाडौं । निजीक्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयर प्रालिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा पनि ह्यांगर बनाउने भएको छ । उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान थाल्ने कम्पनीको रणनीति अनुसार ह्यांगर निर्माणको योजना अगाडि सारेको हो । जहाजहरू पार्किङ र मर्मतका लागि तयार पारिएको संरचनालाई ह्यांगर भनिन्छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २०६९ वैशाख ७ देखि बुद्ध एयरको ह्यांगर सञ्चालनमा छ । त्रिभुवन विमानस्थलमा यती एयरलाइन्स, नेपाली सेना र नेपाल वायुसेवा निगमका पनि आफ्नै ह्यांगर छन् । तीमध्ये बुद्ध एयरको ह्यांगर मात्र पूर्ण क्षमताको छ । अरू कम्पनीका ह्यांगर आंशिक क्षमताका मात्र हुन् ।

पोखराको ह्यांगर पनि पूर्ण क्षमताको रहने कम्पनीका बजार निर्देशक रूपेश जोशीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको ह्यांगर एयरबस–३१९ विमान अट्ने क्षमताको हुनेछ । निर्माण सकिएर सञ्चालनमा आएपछि उक्त विमानस्थललाई आधार बनाएर अन्तरराष्ट्रिय उडान शुरू गर्ने कम्पनीको योजना छ ।

‘सोहीअनुसारको ह्यांगर बनाउने तयारीमा छौं र त्यसका लागि जग्गाको माग गरेका छौं,’ जोशीले आर्थिक अभियानसित भने । एयरबस–३१९ विमान १६० यात्रु क्षमताको हो । अन्तरराष्ट्रिय उडानका लागि बुद्धले यसअघि नै अनुमतिपत्र पाइसकेको छ ।

कम्पनीले आगामी साउन १५ सम्ममा थप एउटा एटीआर–७२ भित्र्याउने भएको छ । एटीआर फ्रान्स र इटालीको संयुक्त लगानीको जहाज निर्माता कम्पनी हो । यसअघि बुद्ध एयरसँग एटीआर–४२ मोडलका तीन र एटीआर–७२ मोडलका सातओटा जहाज सञ्चालनमा छन् । त्यसबाहेक कम्पनीसँग अमेरिकाको ‘बीच एयरक्राफ्ट कर्पोरेशन’का दुईओटा बीचक्राफ्ट जहाज पनि छन् । अभियान दैनिकबाट ।