शीर्षकहरू

हेलि कम्पनीलाई उद्दार र कार्गोमा भ्याइनभ्याई, हेलिकप्टरमा भने पाइलट अभाव

हेलि कम्पनीलाई उद्दार र कार्गोमा भ्याइनभ्याई, हेलिकप्टरमा भने पाइलट अभाव

काठमाडौं । नेपाली हेलिकप्टर कम्पनीहरू सर्वाधिक ब्यस्त हुने समय हो वषन्तकालीन हिमाल आरोहण सिजन । अहिले हिमाल आरोहणमा उद्धार, सरसामग्री ओसारपसार लगायतका उडान हुन्छन् । नेपालमा दर्ता भएका १० वटा निजी हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टर यतिबेला खुम्बु क्षेत्रतर्फ व्यस्त छन् । 

हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार लुक्लादेखी कालापत्थर, गोरक्सेप, फेरिचे, फाक्दिन र सगरमाथा आधार शिविरका लागि सबैभन्दा धेरै उडान भइरहेका छन् । ‘दिनमा १ सय ७६ वटासम्म उडान भए,’ सोसाइटीका महासचिव योगराज कँडेलले भने, ‘दिनमा कम्तीमा ९० सम्म हेलिकप्टर उडान भइरहेका छन् ।’ नेपाली कम्पनीसँग पाइलट अभाव छ ।

यस वर्ष पनि ३० वटा हेलिकप्टर उडाउन २० जना विदेशी पाइलटहरू राखिएका छन् । विदेशीबाहेक ३६ जना नेपाली पनि उडानमा छन् । ‘अधिकांश विदेशी पाइलट तीन महिना करारमा काम गरेर फर्किन्छन्,’ हेलि एभरेस्टका सीईओसमेत रहेका कँडेलले भने । उनका अनुसार विदेशी पाइलटले एक सिजनमा २५ लाख रुपैयाँसम्म आर्जन गर्छन् ।

नेपालको नियमअनुसार एक पाइलटले दिनमा ७ घण्टा वा २५ देखि ३५ वटा ल्यान्डिङ ९अवतरण० र मासिक सय घण्टाभन्दा बढी हेलिकप्टर उडाउन पाउँदैनन् । हेलिकप्टरलाई भने निश्चित घण्टा तोकिएको छैन । ‘हरेक दिन बिहान इन्जिनियरको जाँचपछि दिनभर उडाउन सकिन्छ,’ कैलाश एयरका सञ्चालक ईश्वरी पौडेलले भने, ‘इन्जिन कुलिङको समयबाहेक उड्न योग्य हुँदा मेसिन चलाउन सकिन्छ ।’

हिमाल आरोहणको सिजनमा उडान धेरै हुने भएकाले कम्पनीहरूले पाइलटको संख्या बढाउँछन् । सोसाइटीका अनुसार कम्तीमा दुइटा हेलिकप्टरभएको कम्पनीले ५ वटासम्म पाइलट राखेको छ । कान्तिपुर दैनिकबाट ।