शीर्षकहरू

सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने

सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउने

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का नवनियुक्त अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रबन्धक अशोक प्यासी राईले संस्थानलाई थप व्यावसायिक र गतिशील बनाउने बताएका छन ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो संस्थानको जमलस्थित कार्यालयमा आज कार्यभार सम्हाल्दै उहाँहरुले नेपाली कला र संस्कृति झल्कने केन्द्रका रुपमा यसलाई विकसित गर्ने बताए । अध्यक्ष अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनै विदेशी आइपुग्नेबित्तिकै नेपाली संस्कृति कहाँ छ  भनेर खोजेमा सांस्कृतिक संस्थानमा आएर हेर्नसक्ने स्थिति निर्माण गर्ने बताए । 

उनले संस्थानको ठूलो हलमा साउण्ड सिस्टम व्यवस्थित गर्ने, सानो हललाई थप व्यवस्थित बनाई व्यावसायिक प्रयोगमा ल्याउने, नाटकका लागि रिहर्सल गर्ने कोठा निर्माण गर्ने, पार्किङस्थललाई व्यवस्थित गर्ने र परिसरमा पानी जम्ने समस्याको समाधान गर्नेलगायतका काममा तत्काल ध्यान दिने जनाए । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १४ गतेको बैठकले उहाँहरुलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।

अध्यक्ष अधिकारी र महाप्रबन्धक राईलाई संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा र कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कार्यालय प्रमुख रहेका  तेह्रथुम निवासी अधिकारी यसअघि संस्थानको सञ्चालक समिति सदस्य थिएभने ताप्लेजुङका राई सञ्चारकर्मी हुन । 

यसअघिका अध्यक्ष उद्योग राईको कार्यकाल गत वैशाख २२ र महाप्रबन्धक राजेश थापाको कार्यकाल गत साउन १४ मा सकिएको थियो । अध्यक्ष रिक्तपछि सञ्चालक समितिको बैठक बस्न नसकेकामा सोमबार नयाँ अध्यक्षको पद बहालीलगत्तै पहिलो बैठक सम्पन्न भई विभिन्न निर्णय गरेको छ । सञ्चालक समितिमा एक सदस्य अझै रिक्त छ । 

प्रधानमन्त्रीको निर्देशन

यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी नवनियुक्त अध्यक्ष अधिकारीलाई बधाई दिँदै संस्थालाई थप गतिशील बनाउन निर्देशन दिनुभएको छ । अध्यक्ष अधिकारीले संस्थानलाई प्रधानमन्त्रीको तहबाट प्राथमिकता दिइएकाले आफूहरुले चुनौतीका रुपमा जिम्मेवारीलाई स्वीकारेको जानकारी दिए । 

नेपाली नाटक, गीत, सङ्गीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले विसं २०१६ मा राष्ट्रिय नाचघरको निर्माण भएको थियो भने यसको औपचारिक स्थापना २०१८ साल कात्तिक २८ गते भएको थियो । नाचघरलाई २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग र कहिले प्रसार विभागअन्तर्गत रही २०२९ साल असार ५ गते सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत सांस्कृतिक संस्थान स्थापना भई यसमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन एवं प्रदर्शन गर्न थालेको हो ।

संस्थानले धार्मिक, सामाजिक तथा हास्यनाटकका अतिरिक्त गीति नाटक, नृत्य, नाटक, प्रहसन, लोक गीत, आधुनिक गीत, कविता वाचन एवं परम्परागत शास्त्रीय–नृत्य तथा लोक नृत्यले भरिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।