काठमाडौं । २०८१ चैत महिनामा घरजग्गाको कारोबारसँगै यसबाट संकलन हुने राजस्वमा सामान्य वृद्धि देखिएको छ । भुमि- व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०८१ चैतमा २०८० को चैत महिनाको तुलनामा घरजग्गाको कारोबार केही सुधार भएको हो ।
गत वर्षको भन्दा राजस्वमा १३.७३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ बढी राजस्व संकलन भएकोमा यस वर्षको चैतमा ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।
यसैगरी, गत वर्षको चैतमा घरजग्गा सम्बन्धी १ लाख ४६ हजार ६५० पटक कारोबार भएको थियो । जसमध्ये ५० हजार २५२ पटक लिखत पारित पाएको छ । यस वर्षको चैतमा १ लाख ४७ हजार ४१६ पटक कारोबार हुँदा ४९ हजार ८३२ पटक लिखत पारित भएको छ ।
कारोबार र राजस्व बढे पनि कित्ताकाट भने घटेको अवस्था छ । गत वर्ष ५७ हजार ४२३ वटा कित्तालाई कित्ताकाट गरेर १ लाख २९ हजार ८७२ वटा कित्तामा विभाजन गरिएको थियो । यस वर्ष ५६ हजार ६२७ कित्तालाई १ लाख २२ हजार ६५८ कित्तामा विभाजन गरिएको विभागले जनाएको छ ।
चैतमा घरजग्गाको कारोबारसँगै राजस्व वृद्धि हुनुलाई रियलस्टेट क्षेत्र लयमा फर्किन लागेको सन्देश भएको घरजग्गा व्यवसायीहरू बताउँछन् । १३ प्रतिशतले राजस्व वृद्धिसँगै कारोबार पनि सामान्य वृद्धि हुनुले घरजग्गा क्षेत्र लयमा फर्किन लागेको शन्देश दिएको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरे बताउँछन् । उनले भने, 'चैत महिनामा पनि यसरी घरजग्गाको कारोबार हुनु रकरात्मक हो । यो लयमा फर्किन लागेको सन्देश हो ।’
तर, अहिलेको वृद्धिलाई नै सन्तुष्टि मानेर बस्न सक्ने अवस्था भने नरहेको उनको भनाई छ । सरकार तथा नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा केही सुधार गरेमा घरजग्गाको कारोबार अझै बढ्न सक्ने उनको धारण छ ।
यस वर्ष कस्तो रहला घरजग्गाको कारोबार ?
अध्यक्ष घिमिरेका अनुसार महासंघले रियलस्टेट सुधारका लागि राष्ट्र बैंकसँग विभिन्न मागहरु गरेको छ । लाेन टु भ्यालु रेसियो र घरजग्गा खरिद गर्दा वैध आम्दानी रहेको हुनुपर्नै नियमलाई केही सुधार गर्नुपर्ने उनको भनाई छ । देशमा केही आम्दानीहरू ट्यक्सएबल हुँदैन । जस्तै, किसानले कृषि उपज बिक्रीबाट कमाएको सम्पत्ति ट्यक्स क्लियर नभएको हुनसक्छ । उनीहरुले बैंकको ब्याज तिर्न सक्नन । तर, त्यो आम्दानीको स्रोत नखुलेकाले उनीहरुले ऋण लिन सक्दैनन् । यसले गर्दा घरजग्गा खरिद गर्न चाहेका किसानलाई बाधा पुगेको उनको भनाई छ ।
खरिद गर्ने बढे, बिक्री गर्नेहरु विदेशिए
छिल्लो समय मानिसहरु बिक्रीसँगै खरिद गर्न पनि आइरहेको उनले बताए । उनले भने, 'पछिल्लो बिक्री गर्नेसँगै खरिद गर्ने ग्राहकहरु पनि बढीरहेका छन् । १५ प्रतिशतले खरिद गर्ने ग्राहक बढेका छन् । यो पनि सकरात्मक विषय हो ।’
बिक्री गर्नेहरुमा धेरैजसो विदेश जाने मानिसहरु रहेको उनको भनाई छ । 'बिक्री गर्ने ग्राहकसँग बुझ्दा उहाँहरू विदेश जान घरजग्गा बिक्री गर्न लागेको बताउँनुहुन्छ ।’, उनले भने, 'छोरा छोरी विदेशमा भएको र आफुहरु पनि विदेश नै जाने भन्दै बिक्री गर्न आउँनुहुन्छ ।’
यसैगरी, केही ग्राहकहरु बैंकको किस्ता तिर्न नसक्दा पनि घरजग्गा बिक्री गर्ने गरेको उनले बताए ।