काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेकोे छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत चैत १० गते राखेको १५ अर्ब ७५ करोड परिपक्क भएपछि केन्द्रीय बैंकले थप ३० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो । बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि संकलन भएको १ खर्ब २८ अर्ब १० करोड रकम परिपक्क हुन बाँकी छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति वैशाख २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले गत बुधबार पनि २० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा ९ बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ८० करोड जम्मा गरेका छन् । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । चैत महिनामा मात्रै केन्द्रीय बैंकले ८ पटक यस्तो उपकरण जारी गरिसकेको छ ।
अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा अधिकतम ३ प्रतिशतसम्म ब्याजदर पाउँछन् । स्थायी निक्षेप सुविधाको ब्याजदर भने ३ प्रतिशत निश्चित गरिएको छ भने निक्षेप संकलनको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । अधिक तरलता भएको अवस्थामा निक्षेप संकलनको ब्याजदर कम हुन्छ भने कसिलो अवस्थामा ब्याजदर बढ्छ ।
लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रुपमा स्थायी निक्षेप सुविधा एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६८ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो हालसम्मकै उच्च हो । यसअवधिमा बैंकहरुले ५४ खर्ब ८९ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२७ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ४७ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।