काठमाडौं । शुक्रबार देखि काठमाडौमा तेस्रो अन्तराष्ट्रिय यातायात सम्मेलन २०२५ सुरु हुने भएको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा ‘सुरक्षित, दिगो, प्रभावकारी र सहज यातायात’ भन्ने नाराका साथ यस पटकको सम्मेलनमा आयोजना गरिने भएको छ ।
सम्मेलनमा १४ राष्ट्रका विज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनमा १६ वटा शेसन हुनेछन् । जसमा रिसर्च प्रिजेन्टेशन, जानकारी आदानप्रदान, छलफल मार्फत सुरक्षित, दिगो र सहज यातायात प्रणाली निर्माणका उपलब्धीहरु खोजिनेछन् । त्यस्तै, सम्मेलनमा २२ जना अन्तराष्ट्रिय र ४५ भन्दा बढी राष्ट्रिय वक्ताहरूको उपस्थिति हुनेछ ।
सम्मेलनमा इन्टरमोडल यातायात एकीकरण, सेवा, यातायात नीति र कानुनी ढाँचालाई एकीकृत गरी शहरी यातायात सुधार, जलवायु प्रतिरोधी यातायात पूर्वाधार, बौद्धिक यातायात प्रणाली, पारवाहनमुखी विकास, सार्वजनिक यातायात सुधार, यातायात पूर्वाधार विकास वित्त पोषणका विषयमा छलफल हुनेछन् । त्यस्तै, शहरी यातायात र गतिशीलता, यातायात योजना, सडक सुरक्षा, सार्वजनिक यातायात प्रभावकारिता, इलेक्ट्रिक गतिशीलता, माल ढुवानी यातायात, व्यापार र यातायात, हवाई, रेल र जलमार्ग, शहरी यातायात योजना लगायतका विषयमा पनि छलफल हुनेछन् ।
अन्तराष्ट्रिय सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने, विषयमा महत्वपूर्ण भूमिका खेल्ने सोसाइटीका अध्यक्ष डा.इन्जिनियर हरे राम श्रेष्ठले बताए । विभिन्न सरोकारवालबीच सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रविधिको प्रयोग र यातायात संरचनामा सुधारका उपायहरू खोजिनेछन । यस सम्मेलनले नेपालको यातायात प्रणाली अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन योगदान पुराउने अपेक्षा गरिएको उनले बताए ।
यातायात सम्बन्धी नीति निर्माणमा योगदान पुराउने, यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यात्रा नीतिको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको सोसाइटीले जनाएको छ । त्यस्तै, सार्वजनिक यातायात सुधार, यातायात सेवालाई सर्वसुलभ, प्रभावकारी र वातावरणमैत्री बनाउन पहल गर्नु पनि सम्मेलनको उद्देश्य रहेको छ । साथै स्मार्ट यातायात प्रणालीको प्रवर्द्धन र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्नु सम्मेलनको उद्धेश्य रहेको सोसाइटीले जनाएको छ ।
सम्मेलन चैत २९ गते देखि ३१ गतेसम्म काठमाडौ स्थित याक एण्ड यति होटलमा सञ्चालन हुनेछ ।