शीर्षकहरू

कोशी प्रदेशका अर्थोडक्स चिया उद्योगहरूमा कुल साढे ३ अर्ब लगानी

कोशी प्रदेशका अर्थोडक्स चिया उद्योगहरूमा कुल साढे ३ अर्ब लगानी

काठमाडौं । कोशी प्रदेशका चिया उद्योगहरूमा कुल ३ अर्ब ६८ करोड ७४ लाख लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदान एवम् आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती बारे गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार अध्ययनमा सहभागी ८४ अर्थोडक्स चिया उद्योगहरूमा कुल लगानी ३ अर्ब ६८ करोड ७४ लाख रहेको छ । जसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको रहेको छ भने ६३.६ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । २ वटा उद्योगमा मात्रै वैदेशिक लगानी रहेको छ । कोशी प्रदेशमा २१ अर्गानिक सर्टिफाइड र ७९ अर्गानिक अनसर्टिफाइड गरी कुल १०० अर्थाेडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा रहेका छन्।

आ.व. २०७९/८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको छ । जसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको हिस्सा क्रमशः ११.९ र ८८.१ प्रतिशत रहेको देखिन्छ ।अध्ययनमा सहभागी अर्थोडक्स चिया उद्योगहरूले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियोपत्ताको प्रति केजी औसत खरिद/लागत मूल्य ५४.९३ रहेको छ । यसमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगहरूको प्रति केजी औसत खरिद÷लागत मूल्य क्रमशः ८७ रुपैयाँ र ४९.३५ रुपैयाँ रहेको छ ।

प्रशोधित अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी आन्तरिक बजार मूल्य ९४१.६० रुपैयाँ र अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ रहेको छ । अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको मूल्य क्रमशः ४३३.७१ रुपैयाँ र ४०८.३१ रुपैयाँ मात्र रहेको पाइएको छ । औसतमा अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी बिक्री मूल्य क्रमशः ८२३.१४ रुपैयाँ र ४११.१२ रुपैयाँ रहेको छ ।

अर्थोडक्स चिया उद्योगबाट उत्पादित अर्थोडक्स चियामध्ये ८८.६ प्रतिशत भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गरेको छ । ११.४ प्रतिशत आन्तरिक बजारमा बिक्री हुने गरेको छ । अर्गानिक सर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१.६३ प्रतिशत रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा रहेको छ ।

null

प्रशोधित अर्थोडक्स चियाको बिक्री आय २ अर्ब ५७ करोड ५५ लाख २१ हजार ९१३ रुपैयाँ रहेको छ जसमा निर्यातको हिस्सा ८६.७२ प्रतिशत छ । यसले उद्योगको अधिकांश आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने र उद्योगको आर्थिक सफलता निर्यातमा निर्भर रहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरूको औसत क्षमता उपयोग ५६.२१ प्रतिशत रहेको छ । उद्योगहरू कम क्षमतामा सञ्चालन हुनुको प्रमुख कारणहरूमा कच्चा पदार्थको अभाव, विद्युत आपूर्तिमा अनियमितता, प्राविधिक र दक्ष जनशक्तिको अभाव, मागमा कमी आदि रहेका छन्।

अर्गानिक सर्टिफाइड र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगमा लगानीको प्रतिफल दर क्रमशः १३.५ र १०.८० प्रतिशत रहेको छ, जसले सर्टिफाइड उद्योगले उच्च प्रतिफल दिने देखाउँदछ । लाभ लागत अनुपात अर्गानिक सर्टिफाइड उद्योगमा १.२२ः१ र अर्गानिक अनसर्टिफाइडमा १.१८ः१ रहेको छ, जसले अर्गानिक सर्टिफाइड उद्योग आर्थिक रूपमा लाभदायक हुने स्पष्ट हुन्छ ।

अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थाेडक्स चिया उद्योगको बिक्री आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १८.५० र १५.७० र कुल आम्दानीमा खुद मुनाफा प्रतिशत दर क्रमशः १७.८७ र १५.५३ रहेको देखिन्छ ।

अर्गानिक सर्टिफाइड र अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको प्रति केजी उत्पादन लागत क्रमशः ६९५.६२ र ३३६.७४ रुपैयाँ रहेको छ भने प्रति केजी मुनाफा क्रमशः १५१.८७ र ६४.५५ रुपैयाँ रहेको छ । अर्गानिक सर्टिफाइड चियाको उत्पादन लागत अर्गानिक अनसर्टिफाइड चियाको तुलनामा १०० प्रतिशतले बढी भएतापनि मुनाफा १३५ प्रतिशतले बढी रहेको छ ।

null

अर्गानिक सर्टिफाइड उद्योगमा प्रति उद्योग औसतमा ४४ जना र अर्गानिक अनसर्टिफाइड उद्योगमा प्रति उद्योग औसतमा २४ जनाले रोजगारी प्राप्त गरेका छन्। त्यसैगरी, अर्थोडक्स चिया खेतीतर्फ प्रति रोपनी २ जनाले रोजगारी प्राप्त गरेको देखिन्छ ।

कोशी प्रदेशमा अर्थोडक्स चियाको उत्पादनले (चियापत्ता र प्रशोधित चिया) कुल गार्हस्थ उत्पादनमा ०.०५ प्रतिशत योगदान मात्र पुर्याएको देखिन्छ भनेकोशी प्रदेशको कुल गार्हस्थ उत्पादनमा यसको योगदान ०.३३ प्रतिशत रहेको छ ।

अर्थोडक्स चियाको निर्यातलाई उत्पादन परिमाण र चियाको निर्यात मूल्यले धनात्मक प्रभाव पार्ने रेग्रेशीसन एनलाइसिस बाट देखिएको छ । अर्थोडक्स चियाको उत्पादन परिमाण १०० प्रतिशतले वृद्धि हुदाँ निर्यात परिमाण ९४ प्रतिशतले र यस्तो चियाको निर्यात मूल्य १०० वृद्धि हुदाँ निर्यात परिमाण ६९ प्रतिशतलेबढ्ने पाइएको छ । 

नमुना छनौटमा परेका अर्थोडक्स चिया खेती गर्ने किसानहरूमध्ये ७ प्रतिशतले मात्र सरकारबाट कृषि अनुदान प्राप्त गरेको देखिएको छ भने ८८ प्रतिशत किसानलेतालिम प्राप्त गरेका छन । 

कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान एवम् आन्तरिक र बाह्य बजारमा यसको सम्भावना र चुनौती विषयमा गरिएको यस अध्ययनमा कुल ८४ अर्थोडक्स चिया उद्योग र ४२ अर्थोडक्स चिया खेती गर्ने किसानहरु समावेश भएका छन्। अध्ययनमा सहभागी उद्योग र किसानबाट प्राप्त तथ्यांक तथा द्वितीय स्रोतबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरी तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।