काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १६ अर्ब ६५ करोड रुपैयाँ बढीको विद्युतीय सवारी (कार, जीप र भ्यान) भित्रिएको छ । चालु आवको फागुन मसान्तसम्म १६ अर्ब ६५ करोड रुपैयाँको ७ हजार ८९ वटा ईभी भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये फागुन महिनामा मात्रै ८ सय ३३ वटा ईभी भिएको हाे ।
विभागका अनुसार ईभी आयातबाट फागुन मसान्तसम्म १० अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
कति क्षमताका गाडी कति भित्रिए ?
५१ किलोवाट देखि १०० किलोवाट क्षमताका गाडी सबैभन्दा धेरै भित्रिएका छन् । यो क्षमता भएका ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको ३ हजार ८७९ वटा ईभी भित्रिएका छन् । जुन कुल आयात भएको ईभीको ५५ प्रतिशत हो ।
यसैगरी, ५० किलोवाटसम्म क्षमता भएका २ हजार ५४० वटा सवारी आयात हुँदा १०१ देखि २०० किलोवाटका ६५४ वटा, २०१ देखि ३०० किलोवाटका १४ र ३०० किलोवाट भन्दा माथिका २ वटा सवारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कुन देशबाट कति आयात ?
विभागका अनुसार अधिकांश ईभी चाइनाबाट आयात भएको छ । यो अवधिमा कुल आयातको ७४ प्रतिशत ईभी चाइनाबाट आयात भएको हो । चाइनाबाट १३ अर्ब ९ करोड रुपैयाँ बढीको ५ हजार २७८ वटा ईभी आयात भएको छ ।
त्यसैगरी, भारतबाट ३ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ बढीको १ हजार ७७५ वटा ईभी आयात हुँदा जर्मनीबाट २६ वटा, अमेरिकाबाट ५ वटा, दक्षिण कोरियाबाट ३ वटा र इन्डोनेसियाबाट १ वटा ईभी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।