शीर्षकहरू

वैदेशिक व्यापार : निर्यात ५७ प्रतिशतले बढ्यो, ८ महिनामा झण्डै १० खर्ब घाटा

वैदेशिक व्यापार : निर्यात ५७ प्रतिशतले बढ्यो, ८ महिनामा झण्डै १० खर्ब घाटा

काठमाडौं । चालु आर्थिक वर्षमा निर्यात व्यापारमा क्रमश सुधार देखिएको छ । गत वर्षको यसै अवधिको तुलनामा चालु आवको फागुनसम्ममा नेपालबाट हुने निर्यात ५७.२० प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको ८ महिनाको विवरण अनुसार केही महिना यता निर्यात व्यापारमा निरन्तरत सुधार आएको छ ।  

विभागका अनुसार चालु आवको ८ महिनाको अवधिमा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ८ महिनाको अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा निर्यात ५७.२० प्रतिशतले बढेको हो । 

विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्ममा मुलुकले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको यसै अवधिको तुलनामा चालु आवको फागुन महिनासम्म कुल आयात ११.२० प्रतिशतले बढेको हो । 

चालु आर्थिक वर्षको ८ महिनासम्ममा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । 

८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको  भएको छ । गत वर्षको यही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार १५.२९ प्रतिशतले बढेको हो । वैदेशिक व्यापार बढेसँगै व्यापार घाटा पनि बढेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.३ प्रतिशत तथा आयातको ८७.८७ प्रतिशत रहेको छ । 

भन्सार विभागका अनुसार वस्तुगत आधारमा भटमासको तेल,पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।