शीर्षकहरू

आईपीओको लाइनमा थपिए २ कम्पनी, ८४ कम्पनीको झण्डै ५३ अर्बको आईपीओ आउँदै

आईपीओको लाइनमा थपिए २ कम्पनी, ८४ कम्पनीको झण्डै ५३ अर्बको आईपीओ आउँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आईपीओको पाइपलाइनमा २ कम्पनी थपिएका छन् । आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आईपीओ बिक्री गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । योसँगै आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा रहेका कम्पनीको संख्या ८४ पुगेको छ । यी कम्पनीले बोर्डको अनुमति पाएमा झण्डै ५३ अर्ब बराबरको आईपीओ जारी गर्नेछन् । 

बोर्डका अनुसार पछिल्लो पटक आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आईपीओ बिक्री गर्न माग गर्दै आवेदन दिएका हुन् । आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि यसले कुल ३६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

त्यस्तै, मेवा डेभलपर्सले पनि १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्न अनुमति मागेको छ । यसले १ करोड १२ लाख कित्ता शेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

८४ कम्पनीको झण्डै ५३ अर्बको आईपीओ पाइपलाइनमा

बोर्डका अनुसार झण्डै ५३ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८४ पुगेको छ । कुल ८४ कम्पनीले ५२ अर्ब ८७ करोड ५० लाख ७५ हजार ६३२ रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन् । ८४ कम्पनीले ३७ करोड २६ लाख ६४ हजार २५ कित्ता शेयर बिक्री गर्ने तयारी गरेका हुन् । झण्डै एक दर्जन कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको माग गरेका छन् । 

पाइपलाइनमा रहेकामध्ये सबैभन्दा धेरै ४४ जलविद्युत् आयोजनाबाट १९ अर्ब ७९ करोड ३३ लाख ८३ हजार ९३६ रुपैयाँ बराबरको १९ करोड ३८ लाख ६१ हजार १९१ कित्ता शेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् । त्यस्तै, उत्पादन तथा प्रशोधनतर्फको १५ कम्पनीकोे २२ अर्ब ५४ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको ९ करोड ६ लाख ५५ हजार ६८४ कित्ता शेयर पाइपलाइनमा रहेको छ । 

यस्तै, होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन् । लगानी समूहअन्तर्गत ३ कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५०० कित्ता आईपीओ जारी गर्न आवेदन दिएका छन् ।

यस्तै,अन्य समूहका ११ कम्पनीको ३ अर्ब ७० करोड ५ लाख ६५ हजार रुपैयाँ बराबरको ३ करोड २ लाख ८३ हजार ६५० कित्ता शेयर, ३ माइक्रो इन्स्योरेन्सको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता तथा एक माइक्रोफाइनान्स कम्पनीको ८० लाख बराबरको ८० हजार कित्ता शेयर आईपीओको पाइपलाइनमा रहेको छ ।