शीर्षकहरू

८ महिनामा साढे ४४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, फागुनमा मात्रै झण्डै १८ अर्ब

८ महिनामा साढे ४४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, फागुनमा मात्रै झण्डै १८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले साढे ४४ अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेकोे छ । विदेशी लगानीकर्ताहरुले साउनदेखि फागुनसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ४१ अर्ब ९० करोड तथा स्वचालित प्रणालीबाट २ अर्ब ७५ करोड गरी कुल ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अनुसार ४२७ उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको हो । 

विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ८ महिनामा २३३ उद्योगका लागि ४१ अर्ब ९० करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट १९४ उद्योगका लागि २ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । 

चालु आवको ८ महिनाको अवधिमा सेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ४६ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । 

उद्योग विभागका अनुसार ८ महिनाको अवधिमा ४१५ वटा साना उद्योग, ८ वटा मध्यम र ४ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । ८ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप ११ हजार ४७५ जनाले रोजगारी पाउनेछन् ।

उद्योग विभागका अनुसार हालसम्म ६ हजार ८२५ उद्योगका लागि कुल ५ खर्ब ६४ अर्ब ४० करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ३३३ उद्योगका लागि १० अर्ब ८७ करोड ३१ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ४९२ उद्योगका लागि ५ खर्ब ५३ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ३९ हजार ६७५ रोजगारी सिर्जना हुने विभागको भनाइ छ । 

सेवा तथा पर्यटन उद्योग विदेशी लगानीकर्ताको रोजाईमा 

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा करिब ४२७ वटा उद्योगका लागि विदेशी लथानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रका १८० वटा उद्योगहरुका लागि १७ अर्ब ९० करोड ७५ लाख ९० हजार बराबरको लगानी प्रतिवद्धता आएको हो ।

यस्तैसेवा क्षेत्रका ५४ वटा उद्योगका लागि २२ अर्ब ३६ करोड ३७ लाख ३० हजार लगानी प्रतिबद्धता प्राप्त भएको छ । सूचना प्रविधि क्षेत्रमा १५४ वटा उद्योगका लागि ९५ करोड ५० लाख ३२ हजार लगानी आएको छ । उत्पादन क्षेत्रका ३० वटा उद्योगका लागि २ अर्ब ६३ करोड २० लाख ५० हजार रुपैयाँ, कृषिका ७ वटा उद्योगका लागि ७६ करोड १० लाख, पूर्वाधार क्षेत्रको १ उद्योगका लागि १० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

फागुनमा ४० उद्योगका लागि १७ अर्ब ७९ करोड बढीको प्रतिबद्धता 

चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै ४० उद्योगका लागि १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २१ उद्योगका लागि १७ अर्ब ६७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, स्वचालित प्रणालीबाट १९ उद्योगका लागि १२ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

फागुन महिनामा सेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत कुनै लगानी आएको छैन । यस्तै ४ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । फागुन महिनाको प्रतिबद्धता अनुसार मात्रै थप ८३३ जनाले रोजगारी पाउनेछन् । फागुनमा मात्रै ३३ वटा साना उद्योग, एउटा मध्यम उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ ।

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...