शीर्षकहरू

सुनकोशी- मरिण डाइभर्सन सुरुङको 'ब्रेक थ्रु' आज, उद्घाटनका लागि मंगलबार साँझै मुल्कोट पुगे प्रधानमन्त्री

सुनकोशी- मरिण डाइभर्सन सुरुङको  'ब्रेक थ्रु' आज, उद्घाटनका लागि मंगलबार साँझै मुल्कोट पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय गौरवको ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने कामको आज ‘ब्रेक थ्रु’ हुँदैछ ।

कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझै सिन्धुलीको मुल्कोट पुगिसकेका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर मुल्कोट पुगेका उनी क्वालिटी बिच रिसोर्टमा बसेका छन् । बुधबार बिहान १० बजे विशेष कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-७ को सुनकोशी र तामाकोशी दोभानबाट ९ सय मिटर तल कानढुंग्रीमा ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने तयारी गरिएको छ ।

तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ यो परियोजना सुरु गरिएको हो ।

यस परियोजनाको उद्देश्य प्रदेश-२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्‍याउनु हो। तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाई सुविधा पुर्‍याउने  उल्लेख छ। जसले देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको छ। सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ। 

२०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको यस आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टीबीएमको प्रयोग गरिएको थियो ।

सुनकोशी गाउँपालिका– ७, कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । 

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ सालको असोजमा सो आयोजना पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।