शीर्षकहरू

सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले प्रस्ताव गरेको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको पहिलो वर्षनै लाभांश वितरण गर्न लागेको हो । 

सर्वसाधारणमा कम्पनीले गत फागुन २५ गते आईपीओ बाँडफाँट गरेको थियो । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रूपैयाँ रहेको छ । 

प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १२ गते रुपन्देहीमा विहान १० बजे सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । चैत २९ गते सार्वजनिक विदा परेकाले चैत २८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

सभाले लाभांश प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजका पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै संस्थापक शेयरधनीबाट पाँच जना र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालकसँगै एक जना स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । 

यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी जगेडाकोष कायम रहेको कम्पनीको चालू आर्थिक वर्षभित्र भने ४ अर्ब ९८ करोड रूपैयाँभन्दा बढी जगेडा कोष कायम गर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्मको वास्तविक अवस्था अनुसार कम्पनी ५ रूपैयाँ २८ पैसा प्रतिशेयर आम्दानीमा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८५ रूपैयाँ ३६ पैसा रहेको छ ।