शीर्षकहरू

सप्तकोशी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता शेयर डाँक लिलामीमा आउने

सप्तकोशी डेभलपमेन्ट बैंकको करिब २ लाख कित्ता शेयर डाँक लिलामीमा आउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ८० हजार ७५० कित्ता शेयर डाँक लिलामीमा आउने भएको छ । लक्ष्मण लिम्बु सुब्बाको नाममा रहेको उक्त शेयर ललितपुर जिल्ला अदालतबाट सर्वसाधारणका निमित्त डाँक लिलामीमा ल्याउन लागिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जारी भएको सूचना अनुसार लक्ष्मण लिम्बु सुब्बाले लेनदेन मुद्दामा विगो रकम वापत् २५ लाख रूपैयाँ बुझाउनुपर्ने भएकाले अदालतले उनको नाममा रहेको उक्त शेयर डाँक लिलामी गरी भर्पाइ गराउन लागेको हो । 

प्रतिकित्ता १४४ रूपैयाँ अंकित मूल्यमा विगोले खामेजति मात्र लिलाम गर्ने गरी ललितपुर जिल्ला अदालतमा वैशाख २० गते विहान १० बजेदेखि ५ बजेसम्म डाँक लिलामीको कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा उपस्थित भई इच्छुक लगानीकर्ताहरूले बोलकबोल गर्न सक्ने जानकारी अदालतले दिएको छ । डाँक लिलामीको बखत बोलकबोल गरेको अंकको १० प्रतिशतले हुन आउने रकम सोही दिन दाखिला गर्नुपर्नेछ । बाँकी रकम डाँकलिलामी भएको मितिदेखि ७ दिनभित्र दाखिला गर्नुपर्नेछ । 

७ दिनभित्र बाँकी रकम दाखिला नगरे डाँक लिलामी भएको दिन दाखिल भएको १० प्रतिशत रकम जफत गरी पुनः डाँक लिलामी गिरिने अदालतको भनाई छ । लिलामी प्रक्रियामा सबैभन्दा बढी अंक बोलकबोल गर्नेलाई डाँक सकार गराईनेछ । धितोपत्र दोस्रो बजारमा सप्तकोशी डेमलपमेन्ट बैंकको संस्थापक तर्फको शेयरमूल्य प्रतिकित्ता १४४ रूपैयाँ र सर्वसाधारण तर्फको शेयरमूल्य प्रतिकित्ता ३०० रूपैयाँ रहेको छ ।