शीर्षकहरू

सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, विभिन्न नयाँ अफर सार्वजनिक

सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, विभिन्न नयाँ अफर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ । मिति २०६४ साल वैशाख ७ गते २० औँ वाणिज्य बैंकको रूपमा स्थापना भई ग्राहकहरूमाझ सेवा दिँदै आएको सिटिजन्स बैंक आज वैशाख ७ गते देखि १८ औँ वर्षमा प्रवेश गरेको हो । 

यस १७ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १७ लाख २४ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सात वटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरू मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब रु १ खर्व ८४ अर्ब रहेको छ । कर्जा तर्फ रु १ खर्व ५६ अर्ब रहेको छ र यसै अवधिमा बैंकले करिब रु १ अर्ब २१ करोड  खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले १७औँ वार्षिकोत्सवको अवसरमा आज वैशाख ७ गते बिहानै सात वटै प्रदेशमा करिब १०५३ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा सात वटै प्रदेशका कूल २५ शाखाहरूबाट करिब ६८४ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । 

मधेश प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन् । शिविरमा करिब ३०० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरू समेत निःशुल्क प्राप्त गरेका छन् ।

साथै सिटिजन्स बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स स्मार्ट बचत खातालाई १७ थरि आकर्षक सुविधाहरू थप गरेर ग्राहकहरूमाझ ल्याएको छ । अब ग्राहक रुले यो योजना अन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरू निश्चित समयको लागि प्राप्त गर्न सक्नेछन् । सिटिजन्स बैंकले बचत सम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरता सम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो १७औँ वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ । 

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप ६ वटा शाखाहरू बाट प्रिभिलेज काउन्टरूको समेत सुरुवात गरेको छ । काठमाडौं उपत्यका भित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यका बाहिर बुटवल र हस्पिटल लाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको छ । साथै १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा १० औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही वैशाख ०९ देखी १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।