शीर्षकहरू

सीप विकास मेलामा रमाउँदै थामी, भन्छन्- अवसर पाए देशमै केही गर्छु

सीप विकास मेलामा रमाउँदै थामी, भन्छन्- अवसर पाए देशमै केही गर्छु

काठमाडौं । दोलखा स्थायी घर भई हाल काठमाडौंको टेकुमा बसिरहेका जुनकुमार थामी टुँडिखेलमा सीप सिकिरहेका छन् ।

काठमाडौं महानगरपालिकाले वैशाख १९ देखि सञ्चालनमा ल्याएको सीप मेलामा वैशाख २५ गतेदेखि सहभागी भएका हुन्। उनी टेकुमा परिवारसँग बस्दै आएका छन् । साथीमार्फत् सीप विकास तालिमसम्बन्धी सूचना पाएका थामीले वैशाख १२ गते फारम भरेका थिए । १० वटा क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिममा उनले बार टेन्डरसको तालिम लिइरहेका छन्।

उनले तालिम लिइरहेको कक्षामा नयाँ प्रशिक्षार्थी १६ जना छन् । अनि १२ जना पुराना प्रशिक्षार्थी । पुराना प्रशिक्षार्थीले आफूलाई गिलास, ककटेलको नाम भन्न सिकाइदिएको थामी बताउँछन् । मेलाबाट तालिम सिकेर देशमै केही गर्ने मनस्थिति उनले बनाएका छन् । उनी भन्छन्, 'अवसर पाए देशमै केही गर्छु ।'

देशमै सम्भावना खोज्ने बताइरहेका उनको मुहारमा पनि वैदेशिक रोजगारीले गाँजेको वर्तमान परिवेशका रेखा भने देखिन्छन् । सकेसम्म देशमै सम्भावना खोज्ने तर केही नभएमा केही वर्षपछि विदेश जाने सोच उनको छ ।

तथापि, सीप विकास मेलामा भने उनी रमाइहेका छन् । भन्छन्, 'यहाँ मैले सोचेको भन्दा धेरै फरक पाएँ, एकदमै राम्रोसँग सिक्ने अवसर पाएँ । यहाँ सहभागी हुन पाउँदा खुसी लागेको छ ।'

काठमाडौं महानगरपालिकाको आयोजनामा गएको बुधबारदेखि टुँडिखेलमा एक महिने सीप मेला सञ्चालन भइरहेको छ । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित सुरु गरेको मेलामा १० हजार बढीले आवेदन दिएका थिए । वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइएको महानगरले जनाएको छ ।