शीर्षकहरू

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : लेखक

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । आज कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्ने अडानमा पार्टी रहेको उनले बताए ।

तर सरकारले छानबिनमा आलटाल गरिरहेको आरोप उनले लगाए । कांग्रेसले गृहमन्त्रीको राजीनामा नभई छानबिनको माग मात्रै गरिरहेको तर त्यो माग पूरा गर्न पनि सरकार तयार नभएको आरोप उनले लगाए । 

उनले भने, ‘तर, सरकारले सहकारी ठगीमाथि छानबिन गर्न आलटाल गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र सहकारी ठगी काण्ड छानबिन गर्ने बताएको विषय सकारात्मक भएको, तर रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई बचाएर अरूतिर मात्रै छानबिन गर्ने काम भए कांग्रेसलाई यो कुरा स्वीकार हुँदैन ।'

सहकारी रकम अवचलन भएकोलगायत विषयका आरोपी सरकारमा भएको उनले बताए । 'सहकारीको रकम अवचलन भएकोलगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन् । हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ,' उनले भने ।

आगामी वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

यसैगरी फरक प्रसङ्गमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर जानुपर्ने बताए । 'नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ', उनले भने, 'जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।' कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।

सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको  भनाइ छ ।