शीर्षकहरू

पुँजीगत खर्च वृद्धिका लागि सरकारले समयबद्ध तालिका बनाउनुपर्छ: मल्ल

पुँजीगत खर्च वृद्धिका लागि सरकारले समयबद्ध तालिका बनाउनुपर्छ: मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पुँजीगत खर्चमा सुधार गर्नका लागि समयबद्ध तालिका बनाउनुपर्ने बताएका छन् । बजेट चालु खर्चमै सकिने तर पुँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताएका हुन् ।   

नेपाल तयारी पोसाक संघको वार्षिक साधारण सभामा अध्यक्ष मल्लले भने, ‘चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च २५ प्रतिशत सीमित छ, सरकारले गर्ने खर्चको कछुवागतीले आर्थिक गतिविधि अपेक्षित रूपमा बढ्न सकेको छैन, त्यसैले पुँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि पूर्वाधार विकास आयोजनामा समयमै सम्पन्न गर्ने गरी समय तालिका निर्धारण गर्न आवश्यक छ ।’

सरकारले पुँजीगत खर्च समयमै गर्न नसक्दा अर्थतन्त्रका अन्य क्षेत्रमा पनि गम्भीर असर परेको अध्यक्ष मल्लको भनाई छ । सरकारले आगामी आर्थिक वर्षमा खर्च क्षमता अनुसारको विकास आयोजना छनोट गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष मल्लले आगामी बजेट रोजगारी सिर्जना, उत्पादन वृद्धि मार्फत निर्यात प्रवर्द्धन, एवं औद्योगिक क्षमता विस्तार गर्ने खालको ल्याउनुपर्नेमा जोड दिए ।