शीर्षकहरू

पर्यटन बोर्ड सीइओको लागि दुई पूर्व सीइओसहित २० जनाको आवेदन

पर्यटन बोर्ड सीइओको लागि दुई पूर्व सीइओसहित २० जनाको आवेदन

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का पदका लागि पूर्व दुई सीइओसहित २० जनाले आवेदन दिएका छन् । पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले १२ दिन अगाडि मागेको आवदेनमा आज विहीबारसम्म आवेदन दिने समय थियो ।

आवेदन दिएकामध्ये पुर्व अध्यक्ष दिपकराज जोशी र डा धनञ्जय रेग्मीले सीइओका लागि आवेदन दिएका छन् । त्यस्तै, बोर्डकै कर्मचारी हिक्मत सिंह ऐर, लक्ष्मण गौतम, नविन पोखरेल,  श्रद्धा श्रेष्ठ र सन्तोष बिक्रम थापाले पनि आवेदन दिएका छन् । बोर्डमा अन्य पर्यटन व्यवसायी ज्ञानेन्द्र राई, राजाराम गिरी, ज्ञानेश्वरप्रसाद महतो, दीपक बस्ताबोटी, रामचन्द्र सेडाईंले आवेदन दिएका छन् ।

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले कार्यकारी प्रमुखको पदपूर्ति तथा सिफारिस कार्यविधि कानून सम्मत नभएको भन्दै विरोध गरेको छ । पर्यटन बोर्डमा सञ्चालक समितिले आफै कार्यकारी प्रमुख नियुक्तीको कार्यविधि बनाउने र आफ्नो मान्छे ल्याउने बेलामा पुन कार्यविधि संशोधन गर्ने गरेको छ । 

नयाँ कार्यविधिमा पर्यटन क्षेत्रको अनुभवलाई कम मान्यता दिएको र शैक्षिक योग्यतालाई मात्र बढी प्राथमिकता दिएको कर्मचरी संगठनको भनाइ छ । नयाँ कार्यविधिमा सम्बन्धीत क्षेत्रमा अधिकृत तहमा काम गरेको अनुभवलाई कम प्राथमिकतामा राखेको र विद्यावारिधी गरेको व्यक्तिलाई बढी प्राथमिकता दिएर अनुभवलाई लत्याउन खोजको संगठनको आरोप छ ।