शीर्षकहरू

पाँच खर्ब लगानीयोग्य रकम थुप्रियो, बैंकिङ क्षेत्र अप्ठ्यारोमा छः केसी

पाँच खर्ब लगानीयोग्य रकम थुप्रियो, बैंकिङ क्षेत्र अप्ठ्यारोमा छः केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले बैंकिङ क्षेत्र ऐतिहासिकरुपमा अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष केसीले भने, “बैंकिङ क्षेत्रसँग रु पाँच खर्ब लगानीयोग्य रकम थुप्रिएको छ । निजी क्षेत्रको मनोबल नबढेसम्म कर्जा लगानी पनि बढ्दैन । अब साना तथा मझौला उद्योगलाई सहुलियत दिनेभन्दा पनि वित्तीय पहुँच बढाइनुपर्छ ।” 

डिजिटल कर्जासम्बन्धी व्यवस्था लागू गर्न पूर्वाधार तयार पारिनुपर्ने र उधारो उठाउने कानुन प्रभावकारी बन्नुपर्ने उनले बताए । अध्यक्ष केसीले कर्जा बढाउन पूर्वाधारमा लगानी बढाउनुपर्ने, विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउनुपर्ने, सूचना प्रविधि र स्टार्टअपमा लगानी गर्नका लागि च्यालेन्ज फण्ड र ब्लेन्डेन फाइनान्सलगायतका सुविधा कार्यान्वयन गरिनुपर्नेलगायत उनले सुझाव छ । 

बैंकको खराब कर्जा बढेको र लागतको प्रतिफल घटेको, सबैभन्दा बढी खराब कर्जा निर्माण क्षेत्रमा देखिएको, सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको आवश्यकता रहेको, बैंक तथा वित्तीय संस्थामा काउन्टर साइक्लिकल बफर केही समय लगाउन नहुने तथा वित्तीय संस्थामा विदेशी पुँजी भित्र्याउनुपर्ने, हेजिङसम्बन्धी व्यवस्था प्रभावकारी कार्यान्वयन गरिनुपर्ने, हरित वित्तलाई प्रवर्द्धन गर्नुपर्नेलगायत उनले सुझाव दिए ।