शीर्षकहरू

मल्होत्रा पसिना पुछ्दै बोलिरहे, आफैँमाथि शंका बढाइरहे

मल्होत्रा पसिना पुछ्दै बोलिरहे, आफैँमाथि शंका बढाइरहे

काठमाडौं । बुधबार साँझ समातिएको झण्डै १०० किलो सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता आशंका गरिएपछि व्यवसायी दीपक मल्होत्राले बुधबार दिउँसो पत्रकार सम्मेलन डाके । पत्रकार र युट्युबरले खचाखच हलमा मल्होत्राले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरिरहे ।

आरोप लागेपछि खण्डन गर्नु मल्होत्राको अधिकार र कर्तव्य थियो, जुन उनले पूरा गरे । तर, पत्रकार सम्मेलन जुन उद्धेश्य निम्ति उनले डाकेका थिए : सो उद्धेश्यअनुसार अघि बढाएनन् । बरू, आफूमाथि थप प्रश्न र आशंका निम्तिनेगरी हदप्रभ र आक्रामक देखिए । 

मल्होत्रामाथि सुन र अन्य महँगा विद्युतीय सामग्री तस्करी आरोप लागेको यो पहिलोपटक होइन । झण्डै दुई दशक अघिदेखि नै उनीमाथि ‘तस्कर ट्याग’ लागेको छ, जुन कुरा उनले पनि पत्रकार सम्मेलनमा बताएका छन् ।

‘तस्कर विमल पोद्दारसँग काम गरेको हुँ’

यसअघि ३३ किलो सुन प्रकरण अनुसन्धान गर्ने क्रममा पक्राउ परेका भारतीय नागरिक विमल पोद्दारसँग आफूले काम गरेको मल्होत्रा आफैंले खुलाए । पोद्दारले नेपालमा ३८ क्विन्टल सुन तस्करी गरेको पाइएको थियो । हुण्डीमा पनि उनी संलग्न रहँदै आएका थिए ।

उनै पोद्दारसँगको सम्बन्धबारे मल्होत्रा आफैंले पत्रकारहरूलाई जानकारी दिए । ‘विमल पोद्दार मेरो पार्टनर थिए, कहिले थिए भन्दाखेरी, कालिकास्थानमा बनाएको सिल्भरसिटी अपार्टमेन्ट हामी मिलेर बनाएको हो । त्यो बनाउँदाखेरी हामी सँगै थियौँ । त्यसपछि उसको मेरो पार्टनरसीप त्यहीँ छुट्यो,’ मल्होत्राले भने, ‘उनलाई त्यतिखेर पक्रिँदा मिडियाहरूमा दीपक मल्होत्राका पार्टनर विमल पोद्धार समातिए भनेर लेखियो । दीपक मल्होत्रालाई सबैले चिनेको छ, उसको नाम आउँदा सबैले ध्यान दिएर समाचार हेर्छ भनेर राखेको हुनुपर्छ ।’

‘गोदाम अन्यत्र हुँदाहुँदै लोकमानसिंह कार्कीको घरमा सारें’

लोकमानसिंह कार्की अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहँदा दीपक मल्होत्राले कार्कीकै घरमा गोदाम राखेका थिए ।

राजनीतिक असफलताका कारण दलहरू निरीह हुनुको फाइदा उठाउँदै कार्की अख्तियार प्रमुख भएका थिए । गणतन्त्रको राजकाजका लाभमा लगभग लोकमानकै हालीमुहाली थियो । 

त्यतिखेर मल्होत्राले लोकमानको संरक्षणमा विभिन्न अवैध काम गर्ने गरेका आरोप लागिरहेको थियो । गोदाम नै कार्कीको घरमा सारेर उनले सुन लगायत बहुमूल्य सामान तस्करी गर्ने गरेको आरोप पनि भोगेका थिए । 

आज आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा मल्होत्राले अर्को प्रतिप्रश्न गरे, ‘सुनको काम गर्न मैले लोकमानकै घरमा गोदाम राख्नुपर्छ र ?’ उनले थपे, ‘त्यतिखेर उनको घर खाली थियो । लोकमानले नै आग्रह गरेपछि आफ्नो गोदाम अन्यत्र हुँदाहुँदै पनि उनको घरमा सारेको हो ।’

लोकमान सिंह कार्कीसँग पहिलेदेखि नै चिनजान रहे पनि उनी अख्तियारमा गएपछि दीपक मल्होत्राले अख्तियारमार्फत केही काम गरेको छ भन्ने पुष्टि भएमा जे पनि गर्न तयार रहेको उनले दाबी गरे ।

‘पहिले सुन ल्याएकै हुँ’

अनौपचारिक कुराकानीमा सुन कारोबारीहरू नेपालमा मल्होत्रालाई नम्बरी सुन तस्करीकोउ ट्याग भिराउँछन् । बहुदल आएदेखि नै मल्होत्रा सुन तस्करीमा संलग्न भएको आरोप पनि नयाँ होइन ।

मल्होत्राले पनि आज डाकेको पत्रकार सम्मेलनमा २०५५/५६ सालतिर विदेशबाट किलोका किलो सुन ल्याउने काम गरेको आफैंले स्वीकारे । उनले भने, ‘त्यतिखेर नेपालबाट विदेश जाँदा आफूले कमाएको पैसाबाट अधिकतम १० किलोसम्म सुन किनेर ल्याउन पाइन्थ्यो । त्यो सुन भन्सार तिरेर ल्याउन पाउने व्यवस्था थियो । त्यतिखेर म पनि त्यो व्यापारमा संलग्न थिएँ । त्यतिखेर विदेशबाट फर्कने मानिसहरूलाई कमाएको पैसा नेपाल लैजानुपर्दैन, सुन किनेर लैजानू, नेपालमा फाइदा हुन्छ भनेर भन्थ्यौं । उनीहरूले ल्याएको सुन हामी नै बेचिदिन्थ्यौं ।’ 

सुन तस्करी प्रकरण : आफ्नो संलग्नता नरहेको दीपक मल्होत्राको दाबी

२०५५/५६ सालपछि छिमेकी मुलुक भारतमा भन्सारदर निकै घटेपछि नेपालमा त्यो आफसेआफ बन्द भएइको र सन् १९९७ पछि त्यो व्यापार छाडेर अन्य व्यापारमा लागेको उनको दाबी छ । त्यतिखेर देखि नै सुनको कुरालाई लिएर आफ्नो नाम आउने गरेका कारण आज पनि नाम जोडिएको देखेको उनले तर्क गरे ।

‘एअरपोर्टको ठेक्कामा पनि सुन नै जोडियो’

सुन तस्करीकै सेटिङ मिलाउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरभित्रै ठेक्कापट्टा समेतको काम गरेको आरोप मल्होत्रामाथि लाग्ने गर्छ । मल्होत्राले पनि यस्तो आरोप लागेको कुरा पत्रकार सम्मेलनमा आफैंले बताए ।

‘एअरपोर्टमा आजभन्दा करिब १० वर्षअघि ठेक्का निस्किएको थियो । पार्किङ बनाउन टेन्डर निस्किएको थियो । त्यो टेन्डर मैले लिएँ,’ उनले भने, ‘मैले आइएमएस एअरपोर्ट सर्भिसेजका नामबाट त्यहाँ पार्किङ, अराइभल हल र कमर्शियल कम्प्लेक्स बनाएँ । त्यो न्यूज पनि मलाई बारम्बार लक्षित गरेर धेरैपटक आइसकेको छ ।’ 

‘ठूलो ग्रुपबारे केही भन्दिनँ’

मल्होत्राले पत्रकार सम्मेलनमा आफूलाई ठूलो ग्रुपले आरोप लगाएको बताए ।

पत्रकारले ‘त्यो ठूलो ग्रुप को हो, भन्न सक्नुहुन्छ ?’ भनी सोध्दा त्यसको जवाफ दिनुको साटो आफूले दुई दशकअघि सुन ओसारपसार गरेको पो स्वीकारे । 

उनले भने, ‘को ग्रुप होला भनी म अहिले केही पनि भन्न सक्दिनँ ।’ 

‘३३ किलो सुन प्रकरणबाट उम्कन निकै गाह्रो भयो’

नेपालमा निकै कुख्यात ३३ किलो सुन प्रकरणमा पनि दीपक मल्होत्रा संलग्न रहेका खबर फैलिएको थियो । 

त्यस प्रकरणबारे पनि मल्होत्रा बोले, तर एउटा वाक्यमा फेरि आफैंमाथि आशंका बढाए । उनले बोलेको त्यो वाक्य थियो, ‘ त्यतिखेर पनि मलाई त्यसबाट उम्किन निकै गाह्रो भयो ।’ 

त्यस प्रकरणमा नाम जोडिए पनि पत्रकार सम्मेलन नै नडाकेको, तर मिडिया सोसाइटीमा उजुरी दिएको उनले बताए । पछि को संलग्न थिए भन्ने थाहा भएको पनि उनले उल्लेख गरे ।