काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधबार साँझ काठमाडौंमा समातिएको झण्डै एक क्विन्टल (१०० किलोग्राम) सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ल्याइएको भारी परिमाणको सुन समातिनासाथ सो तस्करीमा व्यवसायी मल्होत्रा संलग्न रहेको हुनसक्ने भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए ।
अनलाइन र छापाहरूले सुन तस्करीमा आफ्नो संलग्नता हुनसक्ने खबर फैलाएपछि मल्होत्राले बिहीबार दिउँसो पत्रकार सम्मेलन नै आयोजना गरेका हुन् । पत्रकार सम्मेलनमा मल्होत्राले भने, ‘उक्त वस्तु आयातमा म, मेरो परिवार, म सम्वद्ध व्यापारिक प्रतिष्ठान वा सोसँगसम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउँमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं म सम्वद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु ।’
यस्तो छ मल्होत्राको स्पष्टीकरण :
उपस्थित पत्रकार मित्रहरु,
नमस्कार ।
मेरो छोटो समयको अनुरोधमा यहाँहरु उपस्थित हुनुभएकोमा यहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।
आज मिति २०८०/४/४ गतेको नयाँ पत्रिकामा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट बरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको विषयमा मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ ।
समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसंग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु । म र मेरो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोवारहरु नेपाल कानून वमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको छ । मैले गर्ने सबै कारोबारहरु संगठित संस्था मार्फत हुने भएकोले प्रचलित कानून वमोजिम मेरो व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरण मार्फत सम्वद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गर्दछ । म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोवार गर्ने गरेको छैन । म र मेरो परिवारको कारोवार, आय सवै कानून वमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानून बमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन् ।
नयाँ पत्रिकामा प्रकाशित समाचारमा भनिएजस्तो त्यो सुन आयात गर्न मसम्वद्ध व्यापारिक प्रतिष्ठान एवं मेरो व्यक्तिगत सम्पत्तिबाट कुनै पनि माध्यमबाट भुक्तानी पठाउने कार्य भए गरेको छैन । साथै उक्त वस्तु आयातमा म, मेरो परिवार, म सम्वद्ध व्यापारिक प्रतिष्ठान वा सोसँगसम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउँमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्वद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु ।
पत्रिकामा नाम उल्लेख गरिएका अन्य कुनै पनि व्यक्तिसँग मेरो कारोवार र सम्बन्ध हुनु त परेको कुरा, चिनजानसमेत छैन । विदेशबाट पठाएको भनिएको वस्तु आयात गर्ने, उक्त वस्तु भन्सार जाँचपास गराउने र वस्तु जिम्मा लिने कुनै पनि चरणमा मेरो संलग्नता छैन । तर, प्रकाशित समाचारमा स्रोतको हवाला दिँदै आफैँ कल्पना गरेर पत्रकारले मेरो नाम मुछेका छन्, मेरो तस्वीरसमेत राखेर मेरो सार्वजनिक जीवनमाथि प्रहार गर्न खोजेका छन् । यसवाट समाचार लेख्ने पत्रकार, उक्त प्रकाशन संस्थाको नियत राम्रो नभएको स्पष्ट देखिन्छ ।
एउटा पत्रकारको अनुमान र आशंकाका आधारमा के कसैको सार्वजनिक जीवनमा प्रहार गर्न, समाजमा स्थापित पहिचानलाई खल्बल्याउन पाइन्छ ? यो समाचार लेख्दा, तयार पार्दा मसँग निज पत्रकार वा सो प्रकाशनबाट कसैले यस विषयमा जानकारीसमेत लिन चाहेन । समाचारमा मलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको उल्लेख गरिए पनि यो सरासर झुट हो । म नेपालमा वसोबास भएको व्यक्ति हुँ । काम विशेषले कहिलेकाहीं विदेश जानुपर्ने अवस्थामा बाहेक म सदैव नेपालमा रहने हुँदा मसंग सम्पर्क नहुने अवस्था हुँदैन । सम्पर्क हुन नसकेको व्यहोरा पारी निवेदकको वैयक्तिक, पारिवारिक, सामाजिक एवं व्यापारिक ख्यातिलाई धुलोमा मिलाउने (धुलीसात पार्ने) गरी गैरकानूनी कार्यमा संलग्नता भएको राष्ट्रिय समाचार माध्यममा प्रकाशित गरिनु कदापी क्षम्य र सहनयोग्य कार्य मानिँदैन ।
एक नागरिकले समाजमा वर्षौंको लगानी, निष्ठा, कर्तव्यपरायणता, कानूनकोपालना लगायतका कृयाकलापद्वारा आफ्नो पहिचान र प्रतिष्ठा आर्जन गरेको हुन्छ । व्यक्तिको ख्याति एवं प्रतिष्ठा उसको सवै सम्पत्ति भन्दा महत्वपूर्ण आर्जन हो । व्यक्तिलाई समाजमा सम्मान र विश्वास निजको ख्याति एवं प्रतिष्ठाको आधामा गरिन्छ । मैले धेरै लामो समयदेखि कानुनसम्मत व्यापार व्यवसाय गरी आफ्नो निष्ठापूर्ण व्यवसायीक पहिचान बनाएको छु । एक सामान्य नागरिक सरह मेरो आफ्नो वैयक्तिक, पारिवारिक एवं सामाजिक पहिचान प्रतिष्ठा र सम्मान रहेको छ ।
यस पृष्ठभूमिमा मलाई एक पटक पनि नबुझी समाचारमा उल्लेखित गैरकानूनी कृयाकलापमा मेरो तश्विर सहित संलग्नता रहेको भन्ने समाचारले मलाई अनर्गल आरोप लगाउने मेरो स्वाभिमान र अन्तस्करणमा गंभीर चोट पुयाउने र मर्माहत गर्ने कार्य भएको छ ।अन्यलाई आक्षेप लगाउन, मर्माहत गर्न र प्रतिष्ठालाई धुलिसात गराउने कार्य किमार्थ पनि नैतिकतापूर्ण व्यवसायिक आचरणभित्र पर्दैन । व्यवसायिक मूल्य मान्यता, आचरणको सिमा नाघी वेलगाम सम्बाददातालाई एक नागरिकले आफ्नो तर्फबाट खेद प्रकट गर्नु मेरो कर्तव्य ठान्दछु । सत्य र वस्तुनिष्ठ समाचार प्रकाशित गर्ने उपस्थित पत्रकार समक्ष प्रस्तुत प्रेश विज्ञप्ती जारी गर्ने मेरो नैतिकतापूर्ण साहसले नै मेरो निर्दोषिता परिपुष्टी गर्ने मैले विश्वास लिएको छु ।
पत्रकारले चलाउने कलम अत्यन्त गंभीर विषय हो । समाचार माध्यमबाट समाज र सर्वसाधारण नागरिकले सत्य र वस्तुनिष्ठ समाचारको अपेक्षा गरेका हुन्छन् । पत्रकारको कलमले सत्यलाई छाँयामा पार्ने र आधारहिन र असत्य व्यहोरालाई प्रतिकलायक हुने गरी प्रकाशन गरिएमा पत्रकारले समाज, राष्ट्रप्रतिको कर्तव्यघात र आप्नै व्यवसायिक मर्यादा विपरित कार्य गरेको मानिन्छ । त्यसमा पनि व्यक्तिलाई गैरकानूनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिईनु व्यवसायिक मर्यादाको घोर उल्लंघन र निन्दनीय कार्य हो । म संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार वा प्रकाशन गर्ने मिडियाले यसवारे माफी नमागे र खण्डन प्रकाशन नगरे म कानुनी उपचारमा जाने यहाँहरुलाई यही पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन चाहन्छु । पुनः यहाँहरुको उपस्थितिको निम्ति धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।
दिपक कुमार मलहोत्रा
मिति : २०८०।०४।४