काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको मुनाफा सञ्चित गरी गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत कम्पनीले गरेको हो । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लाभांश लगानीकर्तालाई निरास बनाएको हो ।
गत वर्ष कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।