काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्ममा अवधिमा बाणिज्य बैंकहरुको कर्जा अनुपात ०.६५ प्रतिशतले बढेको छ । बाणिज्य बैंकहरुले प्रकाशित गरेको असोज महिनासम्मको वित्तीय विवरण अनुसार २० बाणिज्य बैंकहरुको औसत कर्जा अनुपात ४.०४ प्रतिशत छ । जबकी गत आवको सोही अवधिमा यस्तो अनुपात ३.४० प्रतिशत थियो ।
कोभिड पछि विश्व अर्थतन्त्रमा परेको नकरात्मक असर अझै पनि कायम नै छ । फलस्वरुप नेपालको बैंक तथा वित्तीय संस्था पनि प्रभावित बनेका छन् । अर्थतन्त्र चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाले कर्जा असुली पनि गर्न सकेका छैनन् । जसका कारण बैंकहरुको खराब कर्जा बढेको बैंकहरू बताउँछन् । तर, यस्तो अवस्थामा बैंकहरुमा लामो समय रहनु जोखिमपूर्ण हुने बैंकहरू बताउँछन् ।
गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा तीन वटा बैंकले खराब कर्जा घटाएका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक र एसविआई नेपाल बैंकले खराब कर्जा घटाएका हुन् ।
तथ्यांक अनुसार कृषि विकास बैंकको चालु आवको पहिलो त्रैमास अवधिमा खराब कर्जा ४.७८ प्रतिशत छ । गत आवको सोही अवधिमा बैंकको यस्तो कर्जा ५.३३ प्रतिशत थियो ।
एभरेष्ट बैंकको खराब कर्जा ०.७७ प्रतिशत छ । गत आवको सोही अवधिमा ०.९० प्रतिशत थियो । त्यस्तै, नेपाल एसविआई बैंकको चालु आवको पहिलो त्रैमासमा १.८४ प्रतिशत खराब कर्जा छ । गत आवको सोही अवधिमा यस्तो कर्जा २.३५ प्रतिशत थियो ।
सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा माथि पुगेको छ ।
तथ्यांक अनुसार सिटिजन्स बैंकको खराब कर्जा ५.४१ प्रतिशत छ । त्यस्तै सनराइज र इन्भेष्टमेन्ट बैंकको क्रमश ५.४४ प्रतिशत र ५.८४ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थामा खराब कर्जा जति कम भयो त्यति नै बैंक तथा वित्तीय संस्थाको अवस्था बलियो भएको मानिन्छ । खराब कर्जा कम हुँदा बैंकहरुको जोखिम पनि कम हुन्छ । बैंकले प्रोभिजन गर्नुपर्ने रकम भएपछि बैंकको नाफा वृद्धि हुन्छ । त्यसैले राष्ट्र बैंकले खराब कर्जाको अनुपात ५ प्रतिशत भन्दा तल हुनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकले प्रवाह गरेको कर्जाको भाका नाघेको एक महिनासम्मलाई असल कर्जामा मान्नुपर्नेछ । यस्तो कर्जाको एक प्रतिशत प्रोभिजन गर्नुपर्नेछ । भाका नाघेको तीन महिना पछि वाचलिष्टमा राख्नुपर्नेछ । यस्तो कर्जाको बैंकहरुले ५ प्रतिशत प्रोभिजन गर्नुपर्नेछ । ६ महिना नाघेको कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्नेछ ।
भाका नाघेको एक वर्षसम्म पनि सावा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई शङ्कास्पद कर्जा मानी ५० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ ।
एक वर्षभन्दा बढीको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जामा बैंकले सतप्रतिशत प्रोभिजन गरी त्यस्तो कर्जालाई खराब कर्जा मान्नुपर्नेछ ।
चालु आवको पहिलो त्रैमास अवधिमा एभरेष्ट बैंकको खराब कर्जा ०.७७ प्रतिशत छ । नेपाल एसविआईको १ं.८४ र स्ट्याण्डर्ड चार्टड बैंकको १.९५ प्रतिशत छ ।