शीर्षकहरू

‘मेक इन नेपाल’मा जोडिए १३५ स्वदेशी उद्योग

‘मेक इन नेपाल’मा जोडिए १३५ स्वदेशी उद्योग

काठमाडौं ।  स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सन् २०२१ को अन्त्यतिरबाट सुरु गरिएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा १३५ वटा स्वदेशी उद्योगहरु आवद्ध भएका छन् ।

मंगलबार राजधानीमा आयोजित मेक इन नेपाल स्वदेशी सम्मेलन २०२३ मा नेपाल उद्योग परिसंघले उक्त जानकारी दिएको हो । परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार अभियानमा आवद्ध स्वदेशी अभियानका सदस्य कम्पनीहरुले आफ्ना वस्तुहरुमा निश्चित मापदण्ड र प्रक्रिया सहितको स्वदेशी लोगो गैडा अंकित लोगो प्रयोग गरिरहेका छन् । स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, उत्पादनको प्रवर्द्धन गर्ने लगायतका काममा परिसंघले सहयोग गर्दै आइरहेको छ । यसका लागि स्वदेशी एवं विदेशी विभिन्न प्लेटफर्म प्रयोग परिसंघले गरिरहेको छ ।

मंगलबार सम्मेलनको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मेक इन नेपाल स्वदेशी अभियानले स्वदेशी वस्तु उत्पादन वृद्धि र निर्यातमा मद्दत गरिरहेको बताए । यस अभियानलाई प्राथमिकताका साथ राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउनुपर्ने भनाइ राख्दै उनले यसलाई सरकारले अपन्तव लिएको बताए ।

सन् २०२१ को अन्त्यदेखि सुरु भएको यस अभियानले स्वदेशी  वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने, वार्षिक एक हजार उद्योग दर्ता, जीडीपीमा सन् २०३० सम्ममा उद्योगको योगदान २२ प्रतिशत पुर्‍याउने, वार्षिक एक हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा चार अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखेको छ ।