शीर्षकहरू

लैंलैंमा लागेर सुनमा लगानी नगरौं, सोच विचार गरौं !

लैंलैंमा लागेर सुनमा लगानी नगरौं, सोच विचार गरौं !

अहिले सुन किन्नेको ओइरो लागेको छ । बजारमा सुनको मूल्य दिनहुँ बढिरहेको छ । अझै सुनको मूल्य बढ्ने व्यापारीहरु बताउँछन् । सुन तोलाकै साढे दुई लाखसम्म पुग्ने बजारमा व्यापक चर्चा छ । सुनको मूल्य बढेसँगै आम सर्वसाधारण पनि सुन किनिरहेका छन् । आफुसँग भएको रकम उनीहरु सुनमा खर्चिरहेका छन् । 

फेरि भोलि सुनको मूल्य हवात्तै घट्यो भने अहिले महंगोमा किन्नेको हालत के होला ? पक्कै पनि उनीहरु पनि डुब्ने छन् । मान्छे कि त परेर चेत्छ कि त देखेर । त्यसैले, अर्काको लैंलैंमा लाग्नुहुन्न । छिटो नाफा कमाइन्छ भनेर यस्तोमा लगानी गर्नुहुन्न । उदाहरण नै भन्नुपर्दा हिजो कित्ताकै ३५ सय हालेर शेयर किनेकाहरु अहिले सय रुपैयाँमा बिक्री नहुँदा चुलुम्मै डुबेका छन् । 

त्यस्तै, घरजग्गा र गाडीमा पनि यस्तै भएको छ । आनाकै ४० लाख हालेर किनेको जग्गा अहिले त्यसको आधा मूल्यमा बिकेको छैन । २० लाखमा किनेको गाडी लाखमा बिक्री हुन्न । यता, ब्याजको प्रलोभनमा परेर सहकारीमा निक्षेप जम्मा गरेका बचतकर्ताहरु पनि आज नराम्ररी डुबेका छन् । सहकारी भाग्यो । करोडौं बचतकर्ताको बिचल्ली बनायो । 

त्यसरी नै अहिले बैंकले पनि बचतकर्ताहरुको यस्तै हालत बनाउने देखिन्छ । अहिले बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ । बैंक डुब्ने डरले अहिले सर्वसाधारणले आफ्नो निक्षेप निकालेर सुन किनिरहेको पाइन्छ । सुन किनेर घरमा राख्ने गरेका छन्, जनताले । सबैले सुनमा लगानी गर्ने भएपछि पैसा झन् फ्रिज हुने भएको छ । 

किनकि सुन बेचेको पैसा व्यापारीहरुले बैंकमा राख्दैनन् । सुन धितो राखेर वा बेचेर कमाएको पैसा व्यापारीहरुले ३६ प्रतिशत ब्याजमा लगाइरहेका छन् । डेढ लाखको सुन धितो राखेर ५० हजार कर्जा दिई तीन महिनाको समय दिइन्छ । अनि सो अवधिभित्र ऋण नतिरेर सुन नै पचाइदिन्छन् । हिजो पनि सर्वसाधारण लैंलैंमा लागेर डुबे । र, आज पनि त्यँही गल्ती दोहोर्याउँदै छन् । 

दलालीहरुको लैंलैंमा लगेर बैंकले सय रुपैयाँमा निष्काशन गरेको शेयर ३५ सयसम्ममा किने । पाँच हजार आना नपर्ने जग्गा ६०–६५ लाखमा किने । पाँच लाखको गाडी पनि २०–३० लाख हालेर किने । हिजो दलालीहरुको लैंलैंमा लागेर सर्वसाधारण डुबे त आज सुन व्यापारीहरुको लैंलैंमा जनता डुब्दै छन् । त्यसैले, अब जनता समयमै सर्तक हुनुपर्छ । 

सरकारले बैंक, वित्तीय संस्था खोल्न अनुमति दियो । सहकारीमा पैसा राख्नुस्, हामी तपाईंहरुको पैसाको जिम्मेवारी लिन्छौं भनेर सरकारमा बसेका व्यक्तिहरुले नै भने । सिधासाधा जनताले विश्वासमा परेर आफुसँग भएको वा जीवनभर दुःख गरेर, खाईनखाई राखेको सहकारी संस्थामा राखे । 

तर, सहकारी त्यँही पैसा लिएर भाग्यो । अहिले सरकार पनि त्यस्ता ठग, चोर सहकारीका सञ्चालक, अध्यक्षलाई पक्राउ गर्दैन । अधिंकाश सहकारीका कर्मचारीले पनि बचतकर्ताको पैसा हिनामिना वा चोरी गरेको घटना बाहिरिएको छ । 

व्यापार व्यवसायमा पनि लगानी गरेनन् । र, अहिले त्यो पैसाले सबैले सुन किनिरहेका छन् । सुन किन्दा न राज्यले राजस्व पाउँछ न त्यहाँबाट रोजगारी सिर्जना हुन्छ । जनताले सरकारमाथि विश्वास गर्न छोडिसकेका छन् । सरकारले सहकारीका सञ्चालक, अध्यक्षलाई समातेको भए र बचतकर्ताको निक्षेप फिर्ता गरिदिएको भए आज बैंकबाट पैसा निकाल्नेको भीड बढ्दैन्थ्यो । 

अहिले सर्वसाधारणले सहकारीमा बचत गर्न छोडेका छन् । भएको पनि निकालिरहेका छन् । यता, घरजग्गा, गाडी र शेयरमा लगानी गर्न छोडेका छन्, जनताले । सँगै व्यापार व्यवसाय गर्न पनि छोडिएको छ । अहिले जोकोही सुन किनिरहेका छन् अनि घरमा लुकाइरहेका छन् । पैसा जति सबै सुनमा लगानी गरिएको छ । फेरि त्यो सुन घरमै राखिन्छ । 

यसले बजारमा झन् ठूलो मन्दी निम्त्याउने देखिन्छ । सरकार आर्थिक मन्दी हटाउँछु भन्छ । तर, मुखले बोल्दैमा त मन्दी हट्दैंन नि ? सरकारका मन्त्रीदेखि प्रधानमन्त्री, राष्ट्रपति, गभर्नर सबै अर्थतन्त्रम सुधार आएको दाबी गर्छन् । अर्थतन्त्रमा सुधार आएको हो भने किन उपत्यकामा कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन् ? 

किन व्यापारीहरु दिनहुँ पलायन भइरहेका छन् ? किन देशभर मन्दी छ ? राज्यको ढुकुटीमा राजस्व उठ्न छोडिसकेको छ । सरकारी स्वामित्वकै महालेखापरीक्षकको कार्यालय सरकारको आम्दानीभन्दा खर्च दोब्बर रहेको बताउँछ । सरकारको लक्ष्यअनुरुप ४० प्रतिशत पनि राजस्व उठेको छैन । बजार पूरै मन्दीमा छ । मालपोत र यातायात कार्यालय सुनसान छ । 

जनतामा निराशा छाएको छ । उनीहरुले विभिन्न क्षेत्रमा गरेको लगानी सबै डुबेको छ । भाटभटेनी, बिग मार्ट, सुपरमार्केटहरु पनि सुनसान छन् । होटल, रेस्टुरेन्ट, माछा, मासु पसल, डेरीलगायतमा पनि कोही ग्राहक आउँदैनन् । अहिले भीड भनेको कि त सुन पसलमा कि बैंक, वित्तिय संस्थामा । 

एकातर्फ सुन किन्न मानिसहरुको लाम लागेको छ भने अर्कोतर्फ आफ्नो बचत झिक्न । यता, वैदेशिक रोजगारीको सिलसिलामा खाडी जानेहरुको पनि एयरपोर्टमा लर्को छ । २०८० सालमा धेरै मानिसहरुले आत्महत्या गरे । धेरै डुबे । धेरै सडकछाप भए । त्यो कारण थियो, सहकारी । सहकारीले पैसा खाइदिएपछि करोडौं जनताको घरपरिवार नै लथालिंग हुन पुग्यो । 

बैंकबाट कर्जा लिएर घरजग्गा, गाडी र शेयर किनेकाहरु पनि धितोको मूल्य घटेपछि धितो नै बैंकलाई छोडिदिए । यता, यीनै क्षेत्रमा लगानी गरेका अधिंकाशको डुबेपछि भागाभाग नै चलेको छ । अहिले बजारमा भनिन्छ कि घरजग्गा, गाडी र सेयरको मूल्य चार दशकअघिमा फर्किन्छ । अब यसको कारोबारमा सुधार आउँदैन । 

अहिले सरकार हजार र पाँच सयको नोटमा प्रतिबन्ध पनि लगाउँदैन । बजारबाट मन्दी पनि हट्ँदैन । झन् झन् नाजुक अवस्थामा पुगेको छ । सरकारलाई राजस्व कसरी उठाउने ? खर्च कसरी धान्ने ? भनेर मतलब छैन । यता, जनता भने आफुसँग भएको पैसाले धमाधम सुन किनिरहेका छन् । सुन किन्दा सम्बन्धित व्यक्तिलाई फाइदा होला । 

बैंकबाट आफ्नो निक्षेप निकालेर सुन किनेपछि उनीहरु ढुक्क पनि होलान् । तर, यसबाट राज्यलाई त ठुलो घाटा छ नि त । सरकारले पहिल्यै घरजग्गा, गाडी, सेयर, सुनलगायतमा लगानी गर्न पाइँदैन । र,  कृषि, उद्योग, व्यापार व्यवसायमा मात्र लगानी गर्न पाइने भनेर नीति बनाएको भए आज न बैंक, वित्तिय संस्था डुब्थे न नेपाली युवाहरु रोजगारीका लागि खाडी पुग्नु पथ्र्यो । 

तर, सरकारले समयमै यसबारे नसोच्दा आज देश नै तहसनहस अवस्थामा पुगेको छ । सरकारमा बस्नेहरुले देश र जनताको लागि सोचेनन् । आफ्नो पार्टी र परिवारको लागि मात्र सोचे । अनि यस्ता व्यक्तिहरुका कारण आज देश नै नरहने अवस्थामा पुगेको छ । अब जनता पनि दलाली वा व्यापारीहरुको लैंलैंमा लाग्नुहुन्न । जथाभावी लगानी नगरौं, पहिला राम्ररी सोचौं ।