शीर्षकहरू

करिब ८ महिनादेखि समाज लघुवित्तको बोनस शेयर बन्धक

करिब ८ महिनादेखि समाज लघुवित्तको बोनस शेयर बन्धक

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर करिब ८ महिनादेखि बन्धक बनेको छ । कम्पनीले गत साउन ३१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभामार्फत कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट २ करोड रूपैयाँ चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर हालसम्म पनि कम्पनीले कारोबारयोग्य बनाउन नसकेको हो । कम्पनीले यसै महिनाभित्र बोनस शेयर सूचीकृत गराउने जानकारी दिएको छ ।

यो कम्पनीको आईपीओ खरीदकर्तालेनै आफ्नो शेयर कारोबारका लागि करिब तीन वर्ष कुर्नुपरेको थियो । यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो । आईपीओ बाँडफाँटपछि कम्पनीले २०७७ असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराए पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्झौताका कारण सोही दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । 

मर्जर प्रक्रिया टुङ्गोमा पुग्न नसकेको स्वस्तिक र समाज लघुवित्तले २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेका थिए । मर्जर सम्झौता भाडिएपछि करिब तीन वर्षपछि २०८० साल असार ३१ गतेदेखि लागू हुने गरी आधारभूत शेयरधनी वाहेकका शेयरधनीहरूको शेयर कारोबार फुकुवा गरिएको हो । २०८० साल साउन १ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीका आईपीओ खरीदकर्ताहरूनै सुरुका दिनमा घाटामा रहेका थिए ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७२ रूपैयाँ १० पैसामा भएको थियो । हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ९८९ रूपैयाँ कायम भएको छ । हालसम्मको कारोबारमा कम्पनीको शेयरमूल्य २ हजार २४७ रूपैयाँ ५० पैसाम्म पुगेको तथ्याङ्क छ । अंकित मूल्यभन्दा कम मूल्यमा कारोबार खुला भएको कम्पनीको शेयरमूल्य २ हजार २०० रूपैयाँभन्दा माथी पुग्दा बोनस शेयर कारोबार गर्न नपाएकोमा भने लगानीकर्ताहरूले दुख व्यक्त गरेका छन् ।