शीर्षकहरू

खतरनाक ड्यारियन ग्याप हुँदै चार लाख आप्रवासी अमेरिकातर्फ

खतरनाक ड्यारियन ग्याप हुँदै चार लाख आप्रवासी अमेरिकातर्फ

एजेन्सी । पनामा र कोलम्बिया बीचको भयानक जंगल पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो ।

ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने यो बाटोमा घना जंगल छ । जंगली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ ।

जोखिम यत्तिमै समाप्त हुँदैन । आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जंगलमा नै बसिरहेका हुन्छन् । भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन । 

आप्रवासीहरूका लागि दुई सय ६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख ‘कोरिडोर’बनेको छ ।

भेनेजुएलाको त्यो वैभव- यो हालत, २५% ले देश त्याग्दै !

पनामाका अधिकारीहरूलाई घना जंगल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीहरूको वास्तविक सङ्ख्याबारे जाानकारी छैन । उनीहरूलाई यससम्बन्धमा कसैले कुनै जानकारी उपलव्ध गराएको छैन तर धेरै आप्रवासीको यो कठिन यात्रामा मृत्यु हुने गरेको छ ।

पनामाको गृह मन्त्रालयले बुधवारसम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएका बताएको छ । कोलम्बियाबाट हरेक दिन चार हजार आप्रवासी त्यसतर्फ जाने गरेका छन् । कोलम्बियबाट अमेरिका सपना लिएर जाने अधिकांशमा भेनेजुएला, हाइटी, इक्वेडर र कोलम्बियाका नागरिक छन् भने तिनमा केही चिनियाँ र अफगानिस्तानी पनि छन् ।

आप्रवासीहरूको आगमन यति ठूलो छ कि पनामाले देशका विभिन्न भागमा आप्रवासीहरूको लागि सहायता केन्द्रहरू स्थापना गरेको छ । गृहमन्त्री जुआन पिनोले थेग्नै नसकिने गरी आप्रवासीको बाढी आएको र आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताएका छन्‌ ।

आप्रवासीहरूको थेग्नै नसकिने आगमनलाई नियन्त्रण गर्न पनामा सरकारले यसै महिनादेखि गैरकानूनी रूपमा आफ्नो भूमिमा प्रवेश गर्नेहरूलाई फर्काउन थालेको छ । यद्यपि त्यो नियन्त्रण हुन सकेको छैन ।

पानामा र कोलम्बियाबीच रहेको पहाड र जंगल हुँदै विस्तारित १०० किलोमिटर लामो बाटोलाई ‘डेरियन ग्याप’ भनिन्छ । दलदल, सर्प, जंगली जनावर र आपराधिक कारोबारका कारण यो बाटोलाई विश्वकै सबैभन्दा खतरनाक बसाइँसराइ गर्ने मार्ग मानिन्छ । यो मार्ग हुँदै आवतजावत गर्ने धेरै मानिसहरूले ज्यान गुमाउने गर्छन् । तर, मध्य र दक्षिण अमेरिकालाई जोड्ने यो एउटैमात्र जमिनी बाटो हो ।