पानामा र कोलम्बियाबीच रहेको पहाड र जंगल हुँदै विस्तारित १०० किलोमिटर लामो बाटोलाई ‘डेरियन ग्याप’ भनिन्छ । दलदल, सर्प, जंगली जनावर र आपराधिक कारोबारका कारण यो बाटोलाई विश्वकै सबैभन्दा खतरनाक बसाइँसराइ गर्ने मार्ग मानिन्छ । यो मार्ग हुँदै आवतजावत गर्ने धेरै मानिसहरूले ज्यान गुमाउने गर्छन् । तर, मध्य र दक्षिण अमेरिकालाई जोड्ने यो एउटैमात्र जमिनी बाटो हो ।
यो बाटो हुँदै हिँड्ने जोखिम उठाउने मानिसहरू न पानामाका हुन्, न त कोलम्बियाका । यथार्थमा उनीहरू दक्षिणमा पर्ने भेनेजुएला हुँदै आउँछन् । भेनेजुएलाको शरणार्थी संकट ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो शरणार्थी संकट बनेको छ । यतिमात्र होइन, यो विश्वकै ठूला शरणार्थी संकटमा गनिएको छ ।
भेनेजुएलामा आउँदो वर्ष राष्ट्रपति छान्ने चुनाव हुँदैछ, तर निष्पक्ष र स्वतन्त्र चुनाव निम्ति सरकार र विपक्षी दलबीच वार्ता ठप्प रहेको बीबीसीले उल्लेख गरेको छ ।
यो सामग्रीमा हामी ‘के भेनेजुएला एउटा असफल भइसक्यो ?’ भन्ने प्रश्नको जवाफ खोज्नेछौं ।
किन भाग्दैछन् लाखौं मानिस ?
भेनेजुएलाको शरणार्थी संकटबारे बुझ्न हामीले मारिया ग्याब्रियला ट्रोन्पोटेरोसँग कुरा गरेका थियौं, जो जर्मनीको बिलफेल्ड विश्वविद्यालयकी माइग्रेशन रिसर्चर हुन् ।
७ वर्षभित्र भेनेजुएलाका ७३ लाख मानिसले देश छाडेका छन् र ती मध्ये अधिकांश मानिस ल्याटिन अमेरिकाकै अन्य देश या क्यारेबिनन मुलुकतर्फ गएका छन् ।
पछिल्लो ७ वर्षभित्रै ७३ लाख मानिसहरूले भेनेजुएला छाडेको उनले बताइन् । यी मध्ये अधिकांश मानिसहरू ल्याटिन अमेरिकाकै अन्य देश या क्यारेबिनन मुलुकतर्फ गएका हुन् ।
उनले भनिन्, ‘ल्याटिन अमेरिकामा मात्र नभई यो विश्वकै लागि आश्चर्यको कुरा हो । यूक्रेन, सिरिया र कयौं देशका मानिसहरू यसकारण अन्यत्र जान्छन् कि त्यहाँ युद्द छेडिएको छ । तर, भेनेजुएलामा कुनै लडाइँ चलिरहेको छैन ।’
ट्रोन्पोटेरोलाई लाग्छ कि गरिबी नै भेनेजुएलाको शरणार्थी संकटको सबैभन्दा ठूलो कारण हो । त्यहाँका मानिसहरूलाई देशको मानवीय संकटसँग जुध्न निकै गाह्रो छ । खानाकै लागि त्यहाँका परिवारले ५०० अमेरिकी डलर प्रतिमहिना खर्च गर्नुपर्ने अवस्था छ, जबकी त्यहाँको न्यूनतम तलबमान ५० डलर मात्रै छ ।
युवाहरूलाई कलेजमा पढ्न मुस्किल छ, किनकी १८–१९ वर्षको उमेरदेखि नै उनीहरू कमाउनतिर लाग्नुपर्छ । पानी र बिजुलीको समस्या बारम्बार हुने गरेको छ ।
ट्रोन्पोटेरोले जुन मानवअधिकार उल्लंघनका आरोपबारे उल्लेख गरेकी छन्, त्यो गरिबीका कारणमात्र निम्तिएको होइन । बरु देशका राष्ट्रपति निकोलस मादुरोको अलोकतान्त्रिक शासन र राजनीतिक दमनबाट भैरहेको छ । यही कारण निकै धेरै मानिसहरूले देश छाडिरहेका छन् ।
नागरिक असन्तुष्टि
मारियाका अनुसार भेनेजुयालीहरू निकोलस मादुरोको सरकारसँग खुशी छैनन् । चुनाव निष्पक्ष र स्वतन्त्र ढंगले हुने गरेको छैन । अभिव्यक्ति स्वतन्त्रता छैन ।
२८० भन्दा धेरै मानिसहरू त्यहाँ राजनीतिक बन्दी छन् । सन् २०१४, २०१७ र २०१९ मा विरोध प्रदर्शन हुँदा सयौं मानिसहरू सुरक्षाकर्मीको हातबाट मारिए ।
जो व्यक्तिहरू देशबाट भाग्न चाहन्छन् : उनीहरूका लागि छिमेकी देशसम्म पुग्न निकै कठिन छ । राहदानी र प्रवेशाज्ञा तयार गर्न रकम नहुँदा धेरै मानिसहरू गैरकानूनी ढंगले नै छिमेकी देश छिर्ने गर्छन् ।
मारियाका अनुसार यसरी गैरकानूनी तरिकाबाट देश छाडेकाहरूले यात्रा क्रममा कैयन बाधाहरू सामना गर्नुपर्छ । अधिकांश मानिसहरू बिरामी पर्छन् । यसरी कठिन बाटोबाट देश छाड्दै गरेकाहरूमा गर्भवती महिलाहरू पनि भेटिइन्छन् ।
ल्याटिन अमेरिकाका अधिकांश देशमा प्रवेश अनुमतिका लागि भेनेजुयाली नागरिकसँग प्रवेशाज्ञा (भीसा) हुनुपर्छ । तर, अहिले भीसा र आवश्यक कागजात बिनै भेनेजुयालीहरू देशको सीमा नाघेर दोस्रो देशतर्फ भागिरहेका छन् ।
जो मानिसहरू उत्तरी देशमा जान चाहन्छन् : उनीहरूका लागि ड्यारियन ग्यापको बाटो निर्विकल्प हो । जंगली जनावर, दलदल र तीव्र गतिमा बग्ने नदीहरूको बीचबाट यो बाटो तन्किएको छ ।
मारियाका अनुसार भेनेजुएलाको अवस्था यस्तो छ कि त्यहाँका पेन्सनधारीले राज्यबाट महिनामा जम्माजम्मी २० डलरमात्रै पाउने गरेका छन् । यी मानिसहरू विदेशमा रहेका आफ्ना छोराछोरीमा निर्भर छन् । सबै कोणबाट हेर्दा यो उनीहरूका लागि निकै सकसपूर्ण अवस्था हो । किनकी जो देश बाहिर गएका छन् र उनीहरूका लागि जो देशमै छुटेका छन् : यो वियोग सामान्य होइन ।
‘चावेज्म’
लगभग १०० वर्ष पहिले भेनेजुएलामा तेल भण्डार खोजी भयो र त्यसको २० वर्षभित्रै भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक देशमध्ये एक बन्यो ।
भेनेजुएलामा आम्दानीको ठूलो हिस्सा तेल निर्यातबाट प्राप्त हुने गर्थ्यो । यही तेल नै भेनेजुएलाको अस्थिरताको कारक बन्यो ।
पछिल्ला वर्षहरूमा भेनेजुएलाले कयौं ठूला आर्थिक उतारचढाव र राजनीतिक उथलपुथल सामना गरेको छ ।
यो विषयमा चर्चा गर्नुअघि बितेका २५ वर्षबारे कुरा गरौं :
सन् १९९० को दशकमा तेलको मूल्य निकै घट्यो । सोही कारण भेनेजुएलामा गरिबी फैलन लाग्यो र त्यहाँको सरकार ऋण चुकाउन पनि असमर्थ रह्यो ।
अर्थव्यवस्था धर्मराउन लाग्यो । सन् १९९८ मा भेनेजुएलामा भएको राष्ट्रपति चुनावमार्फत जनताले सरकार बदल्न चाहे । परिवर्तनको आशा करिस्मावान युवा नेता ह्युगो चाभेजबाट थियो । चाभेजले पनि राष्ट्रपति चुनावमा सजिलै जीत हासिल गरे ।
ह्युगो चाभेजको राजनीति तथा शासनबारे धेरै जानकारी लिन बीबीसीले न्यूयोर्क विश्वविद्यालयका प्राध्यापक एवम् आधुनिक भेनेजुएलाबारे जानकार अलेहान्ड्रो वालेस्कोसँग कुराकानी गरेको छ ।
वालेस्को भन्छन् कि ह्युगो चाभेज प्रभावशाली वक्ता थिए र देशको उही मैदानी क्षेत्रमा थिए : जहाँबाट कयौं नेता आएका थिए । उनी सत्तामा आएपछि भेनेजुएलामा उज्ज्वल भविष्य शुरु हुन लागेको महसुस भएको थियो ।
‘चाभेजले कयौं सवालको प्रतिनिधित्व गर्थे । देशका नयाँ र पूराना दुबै नीतिहरू यसमा पर्थे । उनको सत्तारोहणलाई एक नयाँ अध्यायको थालनीका रुपमा हेर्न थालिएको थियो । तर, यो नयाँ अध्याय कस्तो हुनेछ भन्ने सवाल चाहिँ कायमै थियो ।’
चाभेज एक समाजवादी एजेन्डा लिएर सत्तामा आएका थिए र उनको वाचा थियो कि देशका गरीबहरूको जीवन राम्रो हुनेछ । उनले देशमा शिक्षा व्यवस्था सुधार्न, शिशु मृत्युदर घटाउन र कयौं मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्ने योजनामा सफलता पनि पाए ।
तर, यसका लागि आवश्यक रकम जुटाउन चाभेजले तेल उद्योग र त्यसबाट हुने आम्दानी सरकारी नियन्त्रणमा लिए । ईराक युद्धका कारण सन् २००३ मा तेलको मूल्य ह्वात्तै बढ्यो र भेनेजुएलालाई तेलबाट प्राप्त हुने मुनाफामा पनि निकै वृद्धि भयो ।
वालेस्कोका अनुसार तेल उद्योग, संसद, सरकारी संस्थान र सेनामाथि चाभेजको पूर्ण नियन्त्रण थियो । चाभेजका लागि समस्याको कारण बाहिरी थिएन । वास्तवमा चाभेज्म या चाभेजवाद नै उनका लागि समस्या बनिदियो । उनी २१औं शताब्दीका समाजवादी चाभेज बनिसकेका थिए ।
सन् २०१२ मा जब चाभेज तेस्रोपटक राष्ट्रपति चुनाव लड्ने तयारी गर्दै थिए : तब उनको उमेर जम्मा ५४ वर्ष थियो । तर, उनको स्वास्थ्य बिग्रिरहेको थियो ।
उनले लिएको समाजवादी राजनीतिक विचारधारालाई चाभिज्म भनिन्थ्यो । चाभिज्मलाई यथावत राख्न चाभेजलाई एक उत्तराधिकारी आवश्यक थियो ।
चाभेजले आफ्ना विदेशमन्त्री निकोलस मादुरोलाई उत्तराधिकारी चुने । तर, भेनेजुयाली जनताले मादुरोमा त्यो व्यक्तित्व देखेनन् : जो चाभेजमा थियो । सन् २०१३ मा चाभेजको मृत्यु भएको केही सातापछि राष्ट्रपति चुनाव भयो । मादुरोले चुनाव त जिते, तर निकै कम मतान्तरले ।
वालेस्काका अनुसार आश्चर्यजनक कुरा यो थियो कि त्यसको एक वर्षअघि सन् २०१२ मा भएको चुनावमा चाभेजलाई भारी मत प्राप्त भएको थियो । उनको मृत्यु भएको केही साताभित्रै गरिएको आकस्मिक चुनावमा मादुरोले १.५ प्रतिशतभन्दा पनि कम मतान्तरले बल्लतल्ल चुनाव जिते ।
यस हिसाबले शुरुदेखि नै मादुरोको लोकप्रियता निकै कमजोर रह्यो । चाभेजको शासनक्रममा भएको आर्थिक अस्तव्यस्तता र तेलमाथि अत्यधिक निर्भरताका कारण भेनेजुएलाको अर्थव्यवस्था पुनः लथालिंग हुन थाल्यो । सरकारी ढुकुटी रित्तियो ।
यस्तो हालत हुँदा पनि भेनेजुएलाको सरकारले तेल निर्यातलाई नै हरेक समस्या समाधानको उपायको रुपमा देखिरहेको थियो । सरकारसँग दूरदर्शिता र दीर्घकालीन योजना नै थिएन ।
जब तेलको मूल्य बढ्यो : त्यतिखेर प्राप्त सबै मुनाफा खर्च गरियो । जब तेलको मूल्य घट्यो : सरकारसँग ऋण तिर्ने रकम पनि भएन ।
ल्याटिनको त्यो साउदी अरब !
जब भेनेजुएलामा तेल भण्डार खोजी भयो : तब विदेशी तेल कम्पनीहरूले तेलको कुवा सरकारसँग भाडामा लिएर तेल निकाल्न थाले ।
सन् १९६० मा भेनेजुएला तेल उत्पादक देशहरूको संस्था ओपेकको सदस्य बन्यो । त्यसको १० वर्षभित्रै भेनेजुएलाले विश्वमा उत्पादन हुनेमध्ये ६ प्रतिशत तेल एक्लैले निकाल्यो ।
भेनेजुएलाको तेल उद्योगको इतिहासबारे कोलम्बिया विश्वविद्यालय मातहत रहेको सेन्टर अफ ग्लोबल इनिर्जी पोलिसीकी वरिष्ठ शोधकर्ता लुइसा पेलासियोस भन्छिन्, तेलकै कारण भेनेजुएलाको महत्व निकै बढेको थियो । भेनेजुएला तेल बजारमा एक ठूलो शक्ति बनेको थियो ।
उसले अमेरिकालाई पनि भारी मात्रामा तेल निर्यात गर्न थाल्यो । यतिसम्म कि भेनेजुएलालाई ल्याटिन अमेरिकाको साउदी अरब पनि भन्न थालियो ।
देशका अन्य उद्योगमा पनि ठूलो मात्रामा विदेशी लगानी हुन थाल्यो । जसकारण भेनेजुएलाका अर्थव्यवस्था तीव्रतर अघि बढ्न थाल्यो ।
सन् १९७० को दशकमा तेलको मूल्य निकै बढ्दा भेनेजुएलालाई फाइदा भयो । दशकभित्रै तेलको मूल्य निकै घट्यो र ९० को दशकको अन्त्यसम्म तेलको मूल्य फेरि बढ्न लाग्यो ।
सन् १९८० मै ह्युगो चाभेज पहिलोपटक भेनेजुएलाको राष्ट्रपति चुनिएका थिए । त्यतिखेर उनीसँग तेलको मूल्य बढ्दा भएको फाइदा उठाउने अवसर थियो ।
चाभेजको शासन क्रममा तेलको मूल्य ६ गुणासम्म बढ्यो । जसकारण सरकारको आयमा भारी वृद्धि भयो । यो त संयोगमात्रै थियो । सरकारले यसका लागि खास केही गर्नुपरेन । तेल उत्पादन बढाउँदा आम्दानी पनि बढाउन सकिन्थ्यो ।
यसरी फस्यो संकटमा
भेनेजुएलाको तेल उत्पादन गर्ने तरिका प्रभावकारी थिए । किनकी त्यहाँ प्रविधिबारे जानकारी कम थियो । चाभेजको शासनशैली नै यसो हुनुको प्रमुख कारण थियो ।
जब तेल कम्पनीका कर्मचारीहरूले चाभेजविरुद्ध प्रदर्शन गरे, तब चाभेजले उनीहरूलाई जागिरबाटै हटाइदिए । परिणाम : प्राविधिक हिसाबले दक्ष जनशक्तिले देश छाडेर हिँडे ।
भेनेजुएलाको तेल उद्योगको इतिहासमा यो एक ठूलो घटना थियो । तेल उद्योगसँग सम्बन्धित धेरै प्राविधिक विज्ञ र कुशल कर्मचारीले देश छाडिदिए । सरकारले उनीहरूसँग सम्झौता प्रयास नै गरेन ।
नतिजा यस्तो भइदियो कि जब तेलको मूल्यले आकाश छोइरहेको थियो : त्यसैबेला भेनेजुएलाको तेल उत्पादन घट्यो । यसको असर अन्य उद्योगमा पनि पर्यो । देशबाट दक्ष जनशक्ति पलायत हुने क्रम जारी रह्यो ।
यस्तो स्थितिमा भेनेजुएलाले अत्यावश्यक सामान समेत बनाउन सकेन । ती सामग्री विदेशबाट आयात गर्न बाध्य भयो ।
चाभेजले आफ्नो राजनीतिक एजेन्डालाई अझै अघि बढाए । किनकी, त्यतिबेला सम्म त तेलबाट भैरहेको मुनाफाले उनको नीतिका कमजोरीहरूलाई छोपिरहेको थियो ।
सन् २०१३ मा चाभेजका उत्तराधिकारी निकोलस मादुरो सत्तामा आउनासाथ तेलको मूल्य फेरि गिर्न थाल्यो । तर, मादुरोले झनै कडा राष्ट्रवादी नीति अपनाए । मादुरोको कदमले देशमा असन्तुष्टि र विरोध प्रदर्शन बढ्यो ।
सन् २०१५ मा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले भेनेजुएलालाई अमेरिकी सुरक्षाका लाग खतरा संज्ञा दिँदै प्रतिबन्धहरू घोषणा गरिदिए।
सन् २०१८ मा मादुरो दोस्रोपटक राष्ट्रपति चुनिए । तर, धेरै मानिसले चुनाव नै फर्जी भएको ठाने ।
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल उद्योगविरुद्ध पनि प्रतिबन्ध लगाइदिए । तेलबाट हुने आम्दानी सकिनासाथ भेनेजुएलाको अर्थव्यवस्था झनै बिग्रियो ।
देश अलगथलग भयो र गरिबीको गर्तमा भासियो । त्यतिखेर भेनेजुएलामा एक नयाँ परिवर्तन आवश्यक थियो ।
अब के होला ?
सन् २०१९ मा मादुरो सरकारका प्रखर विरोधी युवा नेता ख्वान गाइदोले सन् २०१८ को चुनावलाई फर्जी बताउँदै आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरे । दर्जनौं देशले उनको अन्तरिम सरकारलाई मान्यता दिए ।
केही समयका लागि देशमा परिवर्तनको आशा जाग्यो । तर, एक वर्षभित्रै विपक्षी दलहरू ग्वाइदोको विरुद्ध खडा भए र उनलाई सत्ताच्यूत गरिदिए ।
भेनेजुएलामा आगामी राष्ट्रपति चुनाव सन् २०२४ मा हुँदैछ । आउँदो चुनावलाई लिएर जे जस्तो आशा अपेक्षा गरिँदैछ : त्यसको पृष्ठभूमि हेर्दा भेनेजुएलाका मतदाता थाकेका देखिन्छन् ।
त्यहाँका अधिकांश नागरिकको सबैभन्दा ठूलो चिन्ता नै परिवारका लागि दुई छाक रोटी बन्दोबस्त कसरी गर्ने भन्ने हो । हरेक महिना उनीहरू आउँदो महिना घर चलाउने खर्च कसरी जुटाउने भन्ने चिन्तामा रहन्छन् । अधिकांश मानिसहरूसँग राजनीतिक वहस या विरोध गर्ने समय र रुचि दुबै छैन ।
यदि मानिसहरू परिवर्तनको आशाबाट प्रेरित भएर मतदानका लागि निस्किए भने पनि चुनाव निष्पक्ष हुने सम्भावना कम छ ।
मारियानो डी आल्बा भन्छन्, ‘अन्तरराष्ट्रिय मापदण्डअनुसार स्वतन्त्र चुनाव भेनेजुएलामा तत्काललाई असम्भव छ । चुनावी प्रकृया, सञ्चारसंस्था र न्यायालयमािथ सरकारको नियन्त्रण छ । विपक्षीका लागि पनि भारी बहुमतले चुनाव जित्नु र त्यसलाई सरकारले स्वीकार गर्नुमात्रै आशालाग्दो अवस्था हुनेछ ।’
दुई वर्षभित्र २५ प्रतिशतले देश छाड्दै
पछिल्लो पाँच वर्षभित्र विपक्षी दलहरूले भेनेजुएलामा परिवर्तन ल्याउने कुरा गरिरहे, तर त्यो पूरा भएन ।
यसैकारण विपक्षी दलका लागि त्यहाँ सजिलो छैन । देशलाई अघि बढाउने बाटो पहिल्याउन मादुरो सरकार र विपक्षीबीच छलफल नै हुन सकेको छैन ।
हालै अमेरिका र भेनेजुएलाका सरकारी प्रतिनिधिहरूले कतारको दोहामा कुराकानी गरेका छन् । विशेषज्ञहरूले पनि भेनेजुएला संकट निवारणका लागि अन्तरराष्ट्रिय भूमिका महत्वपूर्ण भएको बताउने गरेका छन् ।
अमेरिकाले भेनेजुएला सरकारसँग निष्पक्ष चुनाव गराउने माग राख्न सक्छ र सम्झाउन सक्छ कि चुनावमार्फत नै वर्तमान संकटबाट बाहिर निस्कन सकिन्छ । यो देखाउनका लागि अमेरिकाले भेनेजुएलामाथि लगाएका प्रतिबन्धहरू पनि हटाउन सक्छ ।
कुनै पनि देशलाई त्यतिखेर असफल मुलुक भनिन्छ : जब त्यो देश कानूनअनुसार प्रशासन चलाउन विफल हुन्छ ।
भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो तेल भण्डार छ । तर, पहिले चाभेज र पछि मादुरो सरकारको आर्थिक कुप्रबन्धनका तथा सत्तामै रहिरहन अपनाएको नीतिका कारण मानिसहरू देश छाड्न बाध्य भैरहेका छन् ।
सन् २०२५ सम्म त्यहाँको कूल जनसंख्याको एक चौथाइले देश छाडेका हुनेछन् । यो स्थिति नियाल्दा अब भेनेजुएलालाई एक असफल राष्ट्रको मापदण्डमा राखेर हेर्दा फरक पर्दैन ।
तर, यो पनि आश राखिएको छ कि भेनेजुएलालाई अमेरिकाले फेरि लोकतन्त्रको बाटोमा ल्याएर उसको स्थिति सुधार्न अहम भूमिका खेल्न सक्नेछ ।
(बीबीसी हिन्दीमा प्रकाशित सामग्री अनुवाद र सम्पादन गरिएको ।)