शीर्षकहरू

दुई बीमा कम्पनीको लाभांश वैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र पाउने

दुई बीमा कम्पनीको लाभांश वैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र पाउने

काठमाडौं । दुई बीमा कम्पनीहरूले वितरणका लागि प्रस्ताव गरेको लाभांश वैशाख ६ गतेसम्म कायम शेयरधनीरूले मात्र पाउनेछन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको लाभांश वैशाख ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका हुन ।

यी दुई कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि गत आर्थिक वर्ष ०७९/८० को वार्षिक साधारण सभा बोलाएका छन् । उक्त सभा प्रयोजनका लागि दुबै कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोकका आधारमा दुबै कम्पनीका वैशाख ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त  गर्न योग्य हुने भएका हुन ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले वैशाख २१ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

प्रस्तावित कुल ३५ प्रतिशत लाभांशलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको यस कम्पनीको हाल ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रूपैयाँ चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा १० दशमलव २६ प्रतिशतले हुने ४६ करोड ६३ लाख ७५ हजार ९५७ रूपैयाँ ४६ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । कम्पनीले कर समेत २४ दशमलव ७४ प्रतिशत नगद लाभांश समेत यस वर्ष वितरण गर्नेछ । उल्लेखित प्रस्तावहरू सँगै चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रूपैयाँ ४६ पैसा कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । संस्थापक शेयरधनीको तर्फबाट रित्त सञ्चालक पदमा गरिएको नियुक्तिको अनुमोदन पनि सभाले गर्नेछ । 

प्रभु इन्स्योरेन्सले वैशाख २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौंमा विहान १० बजे सभा बोलाइएको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

यस वर्ष कम्पनीले ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रूपैयाँ रहेको छ ।

पूँजीको आधारमा ६ करोड ५३ लाख ६५ हजार ८०७ रूपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने तयारी कम्पनीको रहेको छ । २ अर्ब ५० करोड रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था बमोजिम हकप्रद शेयर वा अन्य कुनै विकल्प भए सोही बमोजिम हुने गरी नेपाल बीमा प्राधिकरणको स्वीकृति लिने र सोको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

सञ्चालक समितिको संरचना परिवर्तन गरी कम्तीमा एक जना महिला सञ्चालक र एक जना स्वतन्त्र सञ्चालक सहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।