शीर्षकहरू

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन निर्देशन

आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दिए । अध्यक्ष सिलवालले भने, “भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैँ हुन्छ, जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एक मात्र माध्यम भनेको बीमा हो, संसद्, संसदीय समिति, सरकार, राजनीतिक दल लगायत सबैले बीमाका बारेमा बुझेपछि मात्र बीमा क्षेत्रको विकास र पहुँच विस्तारले तीव्रता पाउँछ, त्यसतर्फ सबै लाग्नुपर्छ  ।”

बीमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी लागत न्यून गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि आगामी १५–२० वर्षसम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिए । उनले भने, “प्राधिकरण क्रमिक रूपमा डिजिटलाइजेशनमा अगाडि बढिरहेको छ, बीमा कम्पनीहरूले पनि लगानी बढाएर नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्छ, कम्पनीका आ–आफ्ना विशेषताहरूलाई सम्बोधन गर्ने गरी नयाँ सफ्टवेयर ल्याउन बिमकका सङ्घहरू अग्रसर हुनुपर्छ, प्राधिकरणले कागजात नस्विकार्ने निर्णय गरेपछि बाध्य भएर कम्पनीहरू डिजिटलाइजेशनमा जानुपर्ने अवस्था आउन सक्छ ।”

लघुबीमा कम्पनीहरूलाई न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न इजाजत पत्र दिइएको उनले स्पष्ट पारे । अध्यक्ष सिलवालले भने “लघुबीमा कम्पनीहरू इजाजतको परिधिभित्र रहनुपर्छ, न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई नै लक्षित गरी काम गर्नुपर्छ, फरक खालका नयाँ बीमालेख ल्याउनुपर्छ, बीमाशुल्क सस्तो हुनुपर्छ, दाबी भुक्तानी छिटोछरितो हुनुपर्छ ।”