शीर्षकहरू

सन्दीपविरुद्ध थप कारबाही अघि नबढाउन भन्दै गौशाला-२६ को पत्र- त्रासरहित जीवन जिउन चाहन्छु

सन्दीपविरुद्ध थप कारबाही अघि नबढाउन भन्दै गौशाला-२६ को पत्र- त्रासरहित जीवन जिउन चाहन्छु
सांकेतिक तस्वीर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणी मुद्दा हालेकी गौशाला-२६ ले अब थप कारबाही अघि नबढाउन भन्दै सरकारी वकिलको कार्यालयलाई निवेदन दिएकी छन् ।

बुधबार उनले आफूले काठमाडौँ जिल्ला अदालतको फैसला बदर गर्दै उच्च अदालत पाटनले गरेको फैसला अध्ययन गरेको भन्दै अब उक्त मुद्दा अघि नबढाउन निवेदन गरेकी हुन् ।

उनले मुद्दा दर्ता भएलगत्तैदेखि मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्धको भ्रमपूर्ण खबर फैलाएर आफूमाथि दबाब बढाएको पत्रमा बताएकी छन् । अदालतले आफ्नो फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै आफ्नो त्रासरहित एवं शान्तिपूर्ण जीवन जीउनु नै अबको प्राथमिकता रहेकाले उक्त मुद्दाको कारबाही अगाडि नबढाउनु उनले भनेकी छन् ।

उक्त मुद्दामा २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो । तर गत जेठ ३ गते उच्च अदालत पाटनले जिल्लाको फैसला उल्ट्याएको थियो ।