शीर्षकहरू

टेकूको १९ रोपनी जग्गा भाडामा लाउँदै कर्मचारी सञ्चय कोष, शिलबन्दी बोलपत्र आह्वान

टेकूको १९ रोपनी जग्गा भाडामा लाउँदै कर्मचारी सञ्चय कोष, शिलबन्दी बोलपत्र आह्वान

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो क्षेत्राधिकारभित्र रहेको काठमाडौं महानगरपालिका १२ स्थित टेकूकको १९ रोपनी ७ आना २ पैसा ३ दाम जग्गा भाडामा लगाउने भएको छ ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै कित्ता नम्बर १, ३, १४२ र १९५ को उक्त जग्गा हाल कम्पाउण्डभित्र जे जति रहेको छ १५ वर्षका लागि भाडामा लगाउन लागिएको जानकारी गराएको छ । भाडामा लिन लिन इच्छुक व्यक्ति वा फर्म/कम्पनीबाट रीतपूर्वकको सिलबन्दी बोलपत्र आह्वान कोषले गरेको छ ।

न्यूनतम मासिक भाडा २९ लाख २२ हजार तोकिएको उक्त जग्गा लिजमा लिनका लागि सोही बराबर रकम बोलपत्र जमानत राख्नुपर्ने छ । इच्छुक व्यक्ति वा फर्म/कम्पनीले पुल्चोकस्थित नेपाल इन्भेष्टमेण्ट मेघा बैंक लिमिटेडमा रहेको कोषको खाता नम्बर ००४०१०१०२५४३७३ मा रू ५ हजार फिर्ता नहुने दस्तुर बुझाएको सक्कल प्रति भौचर, लिखित निवेदन, व्यक्तिको हकमा नागरिकताको प्रमाणित प्रतिलिपि, संस्थाको हकमा फर्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, आव २०७९/८० को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र कोषले भाडामा दिन आह्वान गरेको क्षेत्रफल र अवधि बराबर नेपाल सरकार वा संगठित संस्थाको जग्गाको भाडा व्यवस्थापन गरेको प्रमाणित अनुभव पत्र पेस गर्नुपर्नेछ ।

रीत पुर्‍याएर २०८१ असार २५ गते कार्यालय समयभित्र कर्मचारी सञ्चय कोष, सम्पत्ति व्यवस्थापन विभाग, पुल्चोकबाट बोलपत्र फारम खरिद गर्न सकिने छ । बोलपत्रदाताले कोषबाट खरिद गरिएको बोलपत्र सक्कल कागजात भरी सिलबन्दी गरी असार २६ गते दिउँसो १२:१५ सम्म बुझाइसक्नुपर्ने कोषले जनाएको छ ।

एउटा व्यक्ति वा निजको एकासगोलको परिवार वा निजको एकासगोलको परिवारका सदस्य आबद्ध रहेको फर्म/कम्पनी र संस्थाले एउटा मात्र बोलपत्र पेश गर्न सक्नेछ ।बोलपत्रदाताले बोलपत्र दाखिला गर्नु अगावै उक्त जग्गाको स्थलगत अवलोकन गर्न चाहेमा कोषमा सम्पर्क गरी अवलोकन गर्न सक्ने बताइएको छ ।