शीर्षकहरू

दश महिनाको वैदेशिक व्यापारः १३ खर्बको आयात हुँदा निर्यात एक खर्बको मात्रै

दश महिनाको वैदेशिक व्यापारः १३ खर्बको आयात हुँदा निर्यात एक खर्बको मात्रै

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को दश महिना अर्थात साउनदेखि बैशाख महिनासम्मको वैदेशिक व्यापारमा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.३९ प्रतिशतले घटेको छ भने निर्यात ३.६१ प्रतिशतले घटेको छ ।    

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको बैशाख महिनासम्ममा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा एक खर्ब ३० अर्ब ९ करोड रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।       

त्यस्तै, यस अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।          

यस अवधिमा नेपालको व्यापार घाटा २.२६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ व्यापार घाटा व्यहोरोमा यस आवको दश महिनामा भने ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ व्यहोरेको छ । 

बैशाख महिनासम्म १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।