शीर्षकहरू

विरोधकै बीच सरकारको नीति तथा कार्यक्रम संसद्‌बाट पारित

विरोधकै बीच सरकारको नीति तथा कार्यक्रम संसद्‌बाट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुको विरोधका बीच सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै कांग्रेसले निरन्तर विरोध गरिरहेको छ । यसैक्रममा आइतबार पनि कांग्रेसले वेल घेराउ गरेकोमा नाराबाजी र विरोधका बीच सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम होहल्लाकै बीच बहुमतले पारित गरेको घोषणा गरेका हुन् । 

सरकारको आगामी आर्थक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसद्‌मा पेस गरेका थिए ।  नीति तथा कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले संशोधन प्रस्ताव पेस गरेका थिए । आजको बैठकमा केसीले सहकारी ठगी प्रकरणबारे बोलेका थिए भने संशोधन प्रस्ताव नै पेस गरेनन् । सुवालको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएसँगै प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभाको बैठक जेठ १५ गते ४ बजेसम्मका लागि स्थगित भएको छ । त्यसअघि जेठ १५ गते दिउँसो १ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्नेछन् ।