शीर्षकहरू

सात महिनापछि फेरि चीन पुगे पुटिन, युद्ध अन्त्यका लागि पहल गर्लान् सी?

सात महिनापछि फेरि चीन पुगे पुटिन, युद्ध अन्त्यका लागि पहल गर्लान् सी?

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमर पुटिन दुई दिने चीन भ्रमणका लागि बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले पुटिनको स्वागत गरेका छन् ।

पुटिनले युक्रेनमा युद्ध घोषणा गरेपछि चिनियाँ राष्ट्रपति सीसँगको उनको यो तेस्रो भेट हो । उनी गत अक्टोबरमा बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुटिन बेइजिङ पुगेका थिए । त्यसअघि सी २०२३ मार्चमा रुसको राजधानी मस्को पुगेका थिए । 

आफूलाई मध्यस्थकर्ताका रुपमा अघि सारिरहेको चीनले राष्ट्रपति सीको भ्रमणअघि 'रुस-युक्रेन युद्ध' अन्त्यका लागि १२ बुँदे योजना सार्वजनिक गरेको थियो । उक्त भेटमा ती योजनामा माथि पनि छलफल भएको थियो ।

यसैगरी त्यसपछि बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुटिन चीन पुग्दा पनि युद्धबिराम गरेर वार्तामार्फत् अघि बढ्न चीनले पुटिनलाई सुझाव दिएको थियो ।

गत मार्चमा पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि पुटिनको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुगेको अवसरमा यी दुई नेताबीच विभिन्न विषयमा छलफल हुनेछ ।

भेटवार्ताका क्रममा रुस-युक्रेन युद्धका विषयमा पनि महत्वपूर्ण छलफल हुनसक्ने आकलन गरिएको छ । चीनलाई युरोपेलि संघले रुस-युद्ध रोक्न आफ्नो प्रभाव प्रयोग गर्न दबाब दिइरहेको छ । गत महिना पेरिसमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीलाई फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले रुसी युद्ध रोक्न दबाब दिएका थिए । उक्त भेटमा सीले आफू शान्तिको पक्षमा भएको बताएका थिए ।

यद्यपि चीनमाथि रुसमा हतियार निर्यात गरिरहेको आरोप पनि छ । तर चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ । रुसमाथि अमेरिका, युके र ईयूले प्रतिबन्ध लगाइसकेको यस समयमा चीन पुटिनका लागि ठूलो आडभरोसा बनेको छ । चीनले रुसमाथि लागेका प्रतिबन्ध हटाउन आफ्नो तबरबाट पहल पनि गरिरहेको छ ।

यद्यपि, यस भेटमा रुस-युक्रेन युद्धका सम्बन्धमा महत्वपूर्ण छलफल हुनसक्ने अन्तर्राष्ट्रय मिडियाले टिप्पणी गरिरहेका छन् । रुस भ्रमणअघि पुटिनले सिन्हा समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तालाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । 

बुधबार प्रकाशित अन्तर्वार्तामा पुटिनले युद्ध समाधानका लागि रुस वार्ताका लागि खुला रहेको बताएका थिए । उनले युक्रेन  संकट समाधानका लागि चीनको योजनालाई आफूले समर्थन गर्ने पनि उक्त अन्तर्वार्तामा भनेका छन् ।