शीर्षकहरू

सार्वजनिक ऋण करिब २४ खर्ब पुग्यो, नौ महिनामै थपियो ९८ अर्ब

सार्वजनिक ऋण करिब २४ खर्ब पुग्यो, नौ महिनामै थपियो ९८ अर्ब

काठमाडौं । सार्वजनिक ऋणको दायित्व करिब २४ खर्ब पुगेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्ममा ९८ अर्ब ८ करोड रुपैयाँ थपिएर सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो । चालू आवको शुरुमा यस्तो ऋण २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो ।  

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.०२ प्रतिशत हुन आउँछ । चालू आवको वैशाख मासान्तसम्म १ खर्ब ६६ अर्ब ५५ करोड ऋणको भुक्तानी गरिएको छ । जसमा आन्तरिक तर्फ १ खर्ब ३५ अर्ब ६२ करोड र बाह्य तर्फ ३० अर्ब ९३ करोड ऋण भुक्तानी गरिएको छ ।  

चालु आर्थिक वर्षमा ४ खर्ब ५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएका थियो । तर, बैशाख मसान्तसम्ममा २ खर्ब २४ अर्ब ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८.४५ र आन्तरिक ऋण प्राप्ति ७९.५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४.६१ प्रतिशत रहेको छ ।  

चालु आर्थिक वर्ष २०८०/८१ मा ऋण सेवा ( साँवा र व्याज भुक्तानी ) खर्चमा ३ खर्ब ३० अर्ब  ५६ करोड वार्षिक बजेट भुक्तानी भएकोमा वैशाख मसान्तसम्म रु. २ खर्ब ३३ अर्ब २७ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा कुल ऋण सेवा खर्च ४.०९ प्रतिशत रहेको छ ।