शीर्षकहरू

चौथोपटक विश्वासकमो मत लिँदै प्रधानमन्त्री, संसद् चल्न नदिने तयारीमा कांग्रेस

चौथोपटक विश्वासकमो मत लिँदै प्रधानमन्त्री, संसद् चल्न नदिने तयारीमा कांग्रेस

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले चौथोपटक विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को निमय १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्नुहुने संघीय संसदको आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ।

सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ। विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ।

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

संघी ससद्को चौँथो अर्थात बर्खे अधिवेशन गत वैशाख २८ बाट सुरू भएको हो। संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने सवैधानिक व्यवस्था छ।

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसद् नै चल्न नदिने तयारी गरेको छ । सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गरिरहेको कांग्रेसले समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने चेतावनी दिएको छ ।

कांग्रेसले आज बिहान संसदीय दलको बैठकसमेत बोलाएको छ । कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ ।

त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ ।

त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।