शीर्षकहरू

प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान

प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान

काठमाडौं । प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण मा यस्तो अनुमान गरिएको हो । 

“प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आवको फागुनसम्म औषत उपभोक्ता मुद्रास्फिति ६।०८ प्रतिशत रहेको छ । राजस्व परिचानलमा क्रमशः सुधार हुँदै गएको छ”, प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले भने । 

अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती र लुम्बिनीको आर्थिक वृद्धिदर राष्ट्रिय औषतभन्दा माथि रहने अनुमान गरिएको बताउँदै चालु आवमा कूल लगानी २.८ प्रतिशतले बढेर रु १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको जानकारी दिए । 

अर्थमन्त्री पुनले चालु आवको फागुनसम्म सङ्घीय सरकारको राजस्व सङ्कलन ९.७ प्रतिशतले बढेर रु छ खर्ब ३९ अर्ब पाँच करोड पुगेको जानकारी दिँदै यस अवधिमा सङ्घीय खर्च २.९ प्रतिशतले वृद्धि भई रु आठ खर्ब एक अर्ब ५८ करोड पुगेको उल्लेख गरे ।

“विसं २०८० फागुनसम्म कूल सार्वजनिक ऋण रु २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको छ”, अर्थमन्त्री पुनले भने, “आव २०७९/८० मा प्रदेश र स्थानीय तहले सङ्घबाट भएको वित्तीय हस्तान्तरणमार्फत रु तीन खर्ब ९७ अर्ब २६ करोड र राजस्व बाँडफाँडमार्फत रु एक खर्ब २० अर्ब २६ करोड गरी रु पाँच खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।”