शीर्षकहरू

प्यालेस्टिनी प्राधिकरण वित्तीय संकटको जोखिममाः विश्व बैंक

प्यालेस्टिनी प्राधिकरण वित्तीय संकटको जोखिममाः विश्व बैंक

एजेन्सी । प्यालेस्टिनी प्राधिकरणले वित्तीय पतनको सम्भावनाको सामना गरिरहेको विश्व बैंकले जनाएको छ । गाजा युद्धको पृष्ठभूमिमा राजस्व स्रोतहरूको अभाव हुनुका साथै आर्थिक गतिविधिहरू खस्किरहेकाले यस्तो भएको बैंकले जनाएको छ ।  

प्यालेस्टिनी प्राधिकरणको वित्तीय अवस्था विगत तीन महिनामा नाटकीय रूपमा बिग्रिएकाले  वित्तीय पतनको जोखिमलाई बढाएको बैंकले शुक्रबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको हो । बैंकका अनुसार प्यालेस्टिनी प्राधिकरणलाई तिर्नुपर्ने निकासी राजस्व हस्तान्तरणमा कमी र आर्थिक गतिविधिमा ठूलो गिरावटका कारण राजस्व स्रोतहरूमा अत्यधिक कमी आएको छ  ।

सन् २०२३ को अन्त्यमा ६८ करोड २० लाख अमेरिकी डलर रहेको कोष अन्तर आगामी महिनाहरूमा दोब्बर भई प्यालेष्टिनी प्राधिकरणको घाटा १.२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । प्यालेस्टिनी अर्थतन्त्र ६.५ देखि ९.६ प्रतिशतको बिचमा सङ्कुचित हुने अनुमान गरिएकोमा बैंकका दृष्टिकोणसमेत युद्ध लम्बिँदै जाँदा अनिश्चित बनेका छन् । 

बढ्दो विदेशी सहायता र सार्वजनिक कर्मचारी र आपूर्तिकर्ताको थप बक्यौता जम्मा गर्नु प्यालेस्टिनी प्राधिकरणका लागि उपलब्ध वित्तीय विकल्पहरू मात्र भएको बैंकले जनाएको छ । दक्षिण इजरायलमा अक्टोबर ७ मा भएको प्यालेष्टिनी इस्लामिक समूह हमासको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो ।   

इजरायली अधिकारीहरूले उपलब्ध गराएको तथ्यांकअनुसार गाजामा हमासको आक्रमणमा परी एक हजार १७० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । आक्रमणपछि हमासले २५२ जनालाई बन्धक बनाएका थिए, जसमध्ये १२४ जना गाजामा रहेका र तीमध्ये पनि ३७ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

यसैगरी हमासको नियन्त्रणमा रहेको गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणले गाजामा कम्तीमा ३५ हजार ८०० मानिस मारिएकोमा अधिकांश महिला र बालबालिका छन् । हमास र इजरायलबीचको लडाईँका कारण पछिल्लो समय इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैंकमा पनि हिंसा बढेको छ । वेस्ट बैंकमा प्यालेस्टिनी प्राधिकरणले सीमितरूपमा प्रशासनिक उपस्थिति रहेको छ । 

प्यालेस्टिनी अधिकारीहरूका अनुसार अक्टोबर ७ देखि कम्तिमा ५१८ जना  प्यालेस्टिनीहरू इजरायली सेना वा वेस्ट बैंक क्षेत्रमा बसोबास गर्ने इजरायलीद्वारा मारिएका छन् । उक्त अवधिमा प्यालेस्टिनी समूहले गरेका आक्रमणमा वेस्ट बैंकमा कम्तिमा १२ इजरायलीको ज्यान गएको छ ।

बैंकका अनुसार सन् २०२३ अक्टोबरदेखि युद्धका कारण प्यालेस्टिनी अर्थतन्त्र आएको मन्दीपछि करिब पाँच लाख व्यक्तिले रोजगारी गुमाएका छन् । यो अवधिमा गाजा क्षेत्र र वेस्ट बैंकमा बसोबास गर्ने क्रमशः दुई लाख र एक लाख ५० हजार मानिसहरूले रोजगारी गुमाएको अनुमान गरिएको छ । यसका कारण गरिबी बढेकाले हाल लगभग हरेक गाजावासी गरिबीमा बाँचिरहेको बैंकले उल्लेख गरेको छ ।