शीर्षकहरू

१७ वर्षमा पूरा गर्ने लक्ष्यसहित बनेको लुम्बिनी गुरुयोजना ४६ वर्षसम्म अधुरै

१७ वर्षमा पूरा गर्ने लक्ष्यसहित बनेको लुम्बिनी गुरुयोजना ४६ वर्षसम्म अधुरै
तस्बिर : लुम्बिनी विकास कोष

भैरहवा । १७ वर्षमा पूरा गर्ने लक्ष्यसहित बनेको लुम्बिनी गुरुयोजना ४६ वर्षमा पनि पूरा हुन सकेको छैन । सन् १९७८ मा विश्वकै प्रख्यात जापानका वास्तुविद् प्रोफेसर केञ्जो टांगे नेतृत्वको टिमले ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना तयार पारेको थियो ।

गुरुयोजना बन्दा सन् १९९५ मै सम्पन्न गर्ने लक्ष्य थियो । तर, हालसम्म गुरुयोजनाको कति प्रतिशत काम पूरा भयो भन्ने यकिन छैन । लुम्बिनी विकास कोषका अधिकारीहरुले ८५ प्रतिशत त कहिले ८६ प्रतिशत पूरा भएको दाबी गर्छन् । हरेक वर्ष १ प्रतिशत काम भएको देखाउँछन् । गुरुयोजना बने पनि सरकारको प्राथमिकतामा नपर्दा र पर्याप्त बजेट विनियोजन नहुँदा झण्डै २५ वर्षसम्म गुरुयोजनाको काम कछुवाको गतिमा अघि बढेको लुम्बिनी विकास कोषको भनाइ छ ।

लुम्बिनी गुरुयोजना बनेपछि कार्यान्वयनको लागि सन् १९७८ मा विकास समिति गठन ऐन २०१३ का आधारमा लुम्बिनी बिकास समिति गठन भएको थियो । वि.सं. २०४२ (सन् १९८५) मा लुम्बिनी बिकास कोष ऐनद्वारा लुम्बिनी विकास कोष गठन भएपछि मात्र गुरुयोजनाको कार्यान्वयन शुरु भएको हो ।

वि.सं. २०५५/५६ सालदेखि मात्रै गुरुयोजनाका कामले गति लिन थालेको थियो । सरकारले आर्थिक वर्ष २०७०/७१ देखि लुम्बिनी गुरुयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर प्राथमिकताका साथ बजेट छुट्टाउन थालेपछि कामले गति लियो । तर त्यो गति केही समयलाई मात्रै भयो । लुम्बिनी परिसरमा गुरुयोजना भन्दा बाहिरका काम तिब्र रुपमा हुने गरेका छन् तर गुरुयोजना भित्रका काम हुन सकेका छैनन् ।

विकास कोषले गुरुयोजना भन्दा बाहिरका काम गरायो । गुरुयोजना भित्रका कामलाई नीतिगत समस्या देखाउँदै आलटाल गरिरहेको छ ।

विकास कोषका पदाधिकारी राजनीति होडबाजी, कमीसन र पदका लागि डौडिदा १० वर्षमा सम्पन्न हुने काम ४६ वर्ष बितिसक्दा  पनि गुरु योजनाको काम अलपत्र रहेको स्थानिय कृष्ण गुरुङले बताए । विकास कोषले यहाँका स्थानीयलाई बाहिर राखेर पर्यटन प्रवद्धन गर्ने उद्देश्यका साथ अघि बढाउँदा योजनाले सार्थकता पाउन नसकेका गुरुङले बताए ।

४६ वर्ष देखि गुरुयोजनाले पुर्णता पाउन नसक्दा लुम्बिनीको सुन्दरतामै असर परीरहेको लुम्बिनी होटल एसोसीएसनका महासचीव पुर्सोत्तम लम्सालले बताए । उनले राजनीतिक अस्थितरता कारण टेन्डर प्रक्रियामै समस्या आउँदा गुरुयोजना अलपत्र परेको बताए ।

लुम्बिनी बचाँउ महाअभियानका संयोजक अकरम खानले कतिपय काम जापानिज इन्जिनियर केन्जो टांगेका गुरुयोजना बाहेकका प्राथमिकता परेको  बताए ।

उनले केन्जो टांगेले बनाएको योजनालाई विकासकोषले कमाउखानी भाडो बनाएको बताउँदै विकासकोषका पदाधिकारी राजनीति नियुक्तिबाट आउँदा समय धकेल्ने काम गरिरहेको बताए ।

लुम्बिनी विकास कोष र नेपाल सरकारले स्थानियलाई बायस गरेर आफ्नो खुसी काम गरेको स्थानिय विष्नु बस्नेतले बताए ।

स्थानियहरुले  गुरुयोजना नबन्नुमा विकासकोषले ढिलाई गरेको आरोप लागिरहदा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले काम ८६ प्रतिसत सम्पन्न भएको दाबि गरे ।

नेपाल सरकारले गुरुयोजनाका लागि बिनियोजन गरेको बजेट सोही अनुरुप नआउदा कामले पूर्णता पाउन नसकेको शाक्यले बताए ।

कोषमा ठेक्कामार्फत १४ किलोमिटर मुख्य सडक, भित्री सडक २२ किलोमिटर, ५२ किलोमिटर ढल निर्माण, हरियाली, विद्युतीकरण र १२ वटा गेटको काम निर्माणाधिन अवस्थामा छ । लुम्बिनी विकास कोषमा हाल सम्म १६ जना उपाध्यक्ष  फेरिए । तर पनि गुरुयोजना कहिले पुरा हुने हो, ठेगान छैन । राजनीतिक नियुक्तिमा आउने पदाधिकारीले लुम्बिनी क्षेत्रको विकास र विस्तारभन्दा गुरुयोजना विपरीतका काम गर्दै आएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित संस्था ओझेलमा पर्न थालेको  विज्ञहरूको भनाइ छ । 

लुम्बिनीमा पवित्र ढङ्गले काम गर्ने उद्देश्यले पदाधिकारी आउने भन्दा पनि राजनीति क्रीडस्थलको रुपमा प्रयोग हुँदा गुरुयोजना पुरा नभएको विज्ञहरु बताउँछन् । लुम्बिनीमा गुरुयोजना विपरीतका भवन बनिरहेका छन् । लुम्बिनीमा बेबी बुद्धको मूर्ति, थाइल्यान्डको सूचना केन्द्र, बुद्ध प्रतिमा, शान्ति दीप, सभा हल तथा विभिन्न देशहरूले निर्माण गरेका गुम्बा गुरूयोजना विपरीत बनेका छन् । गुम्बा तथा चैत्य बनाउन विभिन्न देश तथा संस्थालाई एक–एकवटा ‘प्लट’ दिने नियम बनाए पनि आफूखुसी वितरण गरिएको छ ।