शीर्षकहरू

भिजिट भिसामा ओमान पुर्‍याएर मानव बेचबिखन

भिजिट भिसामा ओमान पुर्‍याएर मानव बेचबिखन

काठमाडौं । वैदेशिक रोजगारीमा ओमान पटाइदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रुपन्देही रोहिणी गाउँपालिका ४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका ९ शिबचोकबाट पक्राउ गरेको हो ।

पठानले फ्री भिसा र फ्री टिकटमा ओमानमा मासिक ४० हजार रुपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएको, ओमान पटाइदिने भनी काठमाडौंबाट भारत पुर्‍याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्‍याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त ब्युरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।