शीर्षकहरू

गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन डब्लुएचओको आग्रह

गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन डब्लुएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन् । उनले गाजाको युद्ध क्षेत्रमा करिब ७०० जना गम्भीर  बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् । 

इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपतकालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइन समेत काटिएको डब्ल्यूएचओका महानिर्देशक घेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा बताएका हुन् ।  

गाजामा कहाली लाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गरे । 

उत्तरी गाजामा दुईवटा मात्र अस्पतालहरूले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकोले स्वास्थ्य सेवाहरू प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने डब्लुएचओ प्रमुख घेब्रेयससले बताए ।